Menu

1 यूहन्‍ना 4

NCB

1 प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्। 2 परमेश्‍वरका आत्मालाई तिमीहरू यसरी चिन्‍न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्‍वरबाटको हो। 3 तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्‍वरबाटको होइन। अनि यही नै ख्रीष्‍ट विरोधीको आत्मा हो, जो आउँछ भन्‍ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ। 4 हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। 5 तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्‍टिकोणद्वारा बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। 6 हामी परमेश्‍वरका हौँ, र जसले परमेश्‍वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्‍वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ। 7 प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्‍वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो, र त्यसले परमेश्‍वरलाई जान्दछ। 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिनेको हुँदैन; किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ। 9 परमेश्‍वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो: पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्‍टलाई यस संसारमा पठाउनुभयो। 10 प्रेम यही नै हो, हामीले परमेश्‍वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्‍चितको बलि बनाएर पठाउनुभयो। 11 प्रिय मित्रहरू हो, परमेश्‍वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। 12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौँ भने परमेश्‍वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। 13 हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ। 14 अनि हामीले देखेका छौँ र साक्षी दिन्छौँ; पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ। 15 कुनै पनि व्यक्तिले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्‍वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्‍वरमा। 16 अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ। परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ। 17 यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ। 18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन। 19 हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। 20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन। 21 अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate