Menu

1राजाहरू 19

NCB

1 आहाबले ईजेबेललाई एलियाले गरेका सम्पूर्ण काम र तिनले कसरी बालका अगमवक्ताहरूलाई तरवारले मारे, ती सबै कुरा बताइदिए। 2 यसकारण ईजेबेलले एलियाकहाँ यसो भनेर दूतहरू पठाइन्, “भोलि यस बेलासम्म मैले तेरो जीवनलाई पनि तिनीहरू प्रत्येकको जस्तै बनाइनँ भने देवताहरूले मसित कठोर व्यवहार गरून्।" 3 तब एलिया भयभीत भएर आफ्नो प्राण जोगाउन भागे। यहूदाको बेर्शेबामा आइपुगेपछि तिनले आफ्नो सेवकलाई त्यहीँ छोडे; 4 तर तिनीचाहिँ एक दिनको बाटो भएर उजाडस्थानमा गए। तिनी एउटा अम्रिसको झाडीमा आइपुगे, र त्यसको फेदमा बसे। तिनले मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, “हे याहवेह, मेरा लागि अति भयो। मेरो प्राण लिनुहोस्; म मेरा पितापुर्खाहरूभन्दा असल छैनँ।" 5 तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए। तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।" 6 तिनले चारैतिर हेरे, र आफ्नो सिरान छेउमा ताता कोइलाहरूमा पकाइएका केही रोटी र एउटा पानीको सुराही देखे। तिनले त्यो खानपिन गरेर फेरि ढल्के। 7 याहवेहका दूत दोस्रोपल्ट आएर तिनलाई छोएर भने, “उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।" 8 यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्‍वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए। 9 त्यहाँ तिनी एउटा गुफाभित्र पसे, र त्यहीँ रात बिताए। याहवेह एलियाकहाँ देखा पर्नुभएको याहवेहको वचन तिनीकहाँ आयो “एलिया, तँ यहाँ के गर्दैछस्?" 10 तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्‍वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।" 11 याहवेहले भन्‍नुभयो, “गएर पर्वतमा याहवेहको उपस्थितिमा खडा हो। किनकि याहवेह त्यहाँबाट भएर जाँदैहुनुहुन्छ।” तब एउटा शक्तिशाली बतास आएर पर्वतलाई फुटाइदियो अनि चट्टानलाई याहवेहको सामु छिन्‍नभिन्‍न पारिदियो। तर त्यस बतासमा याहवेह हुनुहुन्‍नथ्यो। बतासपछि भुइँचालो आयो, तर त्यस भुइँचालोमा याहवेह हुनुहुन्‍नथ्यो। 12 भुइँचालोपछि आगो आयो, तर याहवेह आगोमा पनि हुनुहुन्‍नथ्यो। अनि आगोपछि एउटा सुस्त र शान्त कानेखुसीको सोर आयो। 13 त्यो सोर सुनेपछि एलियाले आफ्नो खास्टोले आफ्नो मुख ढाके, र बाहिर गए, र तिनी गुफाको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, “एलिया, तँ यहाँ के गर्दैछस्?" 14 तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्‍वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।" 15 याहवेहले तिनलाई भन्‍नुभयो, “तँ आएकै बाटो फर्किजा, र दमस्कसको उजाडस्थानमा जा। तँ त्यहाँ पुगेपछि हजाएललाई अराममाथि राजा अभिषेक गर्। 16 निम्शीका छोरा येहूलाई पनि इस्राएलमाथि राजा अभिषेक गर्; अनि अबेल-महोलाका शापातका छोरा एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्। 17 हजाएलको तरवारबाट उम्केको जो कोहीलाई येहूले मार्नेछ; अनि येहूको तरवारबाट उम्कनेलाई एलीशाले मार्नेछ। 18 तरै पनि बालको सामु आफ्ना घुँडा नटेकेका र आफ्ना ओठहरूले त्यसलाई चुम्बन नगरेका सात हजारलाई म इस्राएलमा बचाइराख्छु।" 19 यसकारण एलिया त्यहाँबाट हिँडे, र तिनले शापातका छोरा एलीशालाई खेत जोत्दै गरेको भेटे। त्यहाँ बाह्र हल गोरुहरू थिए; र तिनी आफूले चाहिँ बाह्रौँ हल गोरु जोत्दैथिए। एलिया तिनीकहाँ गए, र आफ्नो खास्टो तिनलाई ओढाइदिए। 20 तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, “मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।” एलियाले जवाफ दिए, “फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?" 21 यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।

Everything we make is available for free because of a generous community of supporters.

Donate