Menu

2 इतिहास 19

NCB

1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा सुरक्षित फर्के। 2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न निस्के, र तिनले यहोशापात राजालाई भने, “के तपाईंले दुष्‍टलाई सघाएर याहवेहलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? यसकारण तपाईंको यो कार्यको कारण याहवेहको क्रोध तपाईंमाथि पर्नेछ। 3 तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।" 4 यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरतिर फर्काए। 5 तिनले देशमा र यहूदाका प्रत्येक सुरक्षित सहरमा न्यायकर्ताहरू नियुक्त गरे। 6 तिनले उनीहरूलाई भने, “तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ। 7 अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्‍वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्‍न।" 8 यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे। 9 तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू। 10 सबै मुद्दा, जो सहरमा बस्‍ने तिमीहरूका सङ्गी नागरिकहरूबाट तिमीहरूका सामु आउँछन्, ती मुद्दाहरू हत्यासम्बन्धी होऊन् वा व्यवस्था वा आज्ञा, धर्मविधि वा नियमहरूका विरुद्धमा होऊन्, तिमीहरूले तिनीहरूलाई याहवेहको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू; नत्रता तिमीहरू र तिमीहरूका मानिसहरूमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ। 11 “याहवेहसम्बन्धी कुनै पनि विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि हुनेछन्। अनि राजासम्बन्धी कुनै पनि विषयमा इश्माएलका छोरा जबदियाह, यहूदाको कुलका अगुवा तिमीहरूमाथि हुनेछन्; र लेवीहरू तिमीहरूका सामु अधिकृतको रूपमा सेवा गर्नेछन्। साहससित काम गर्नू र असल गर्नेहरूसित याहवेह रहून्।"

Everything we make is available for free because of a generous community of supporters.

Donate