Menu

2 शमूएल 1

NCB

1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे। 2 तेस्रो दिन शाऊलको छाउनीबाट फाटेको लुगा लगाएको र टाउकोमा धुलो हालेको एक जना मानिस दावीदकहाँ आयो। जब त्यो दावीदकहाँ आयो, तब दावीदलाई सम्मान दिन भुइँमा घोप्टो परेर त्यसले दण्डवत् गर्‍यो। 3 दावीदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलीहरूको छाउनीबाट उम्केर आएको हुँ।" 4 दावीदले त्यसलाई फेरि सोधे, “त्यहाँ के भयो? मलाई भन्।” त्यसले भन्यो, “सेनाहरू लडाइँबाट भागे, र धेरै जना मारिए। अनि शाऊल र तिनका छोरा जोनाथन पनि मारिएका छन्।" 5 तब तिनीकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई दावीदले भने, “शाऊल र तिनका छोरा जोनाथन मारिएका छन् भनी तैँले कसरी जान्दछस्?" 6 त्यस जवान मानिसले भन्यो, “म संयोगवश गिल्बो डाँडामा पुगेको थिएँ। त्यहाँ शाऊल आफ्नो भालामाथि झुकेको मैले देखेँ। रथहरू र घोडसवारहरूले तिनलाई भेट्नै लागेका थिए। 7 जब तिनले फर्केर हेरे, तब मलाई देखे, र मलाई बोलाए। मैले भनेँ, ‘हजुर, आज्ञा होस्, म केही गर्न सक्छु कि?’ 8 “तिनले मलाई सोधे, ‘तँ को होस्?’ “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’ 9 “तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’ 10 “यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्‍ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।" 11 तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते। 12 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए। 13 दावीदले आफूकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म परदेशीको छोरा, एक अमालेकी हुँ।" 14 तब दावीदले त्यसलाई सोधे, “याहवेहका अभिषिक्त जनलाई मार्न हात उठाउँदा तँलाई डर लागेन?" 15 तब दावीदले आफ्ना एक जना मानिसलाई बोलाएर भने, “जाऊ, गएर त्यसलाई मारिदेऊ!” यसकारण त्यस मानिसले त्यसलाई तरवारले हान्यो र मर्‍यो। 16 किनकि दावीदले त्यसलाई भनेका थिए, “तेरो मृत्युको जिम्मेवार तँ आफैँ होस्, किनकि तैँले आफ्नै मुखले तेरो विरुद्धमा साक्षी दिइस् र तैँले भनिस्, ‘मैले याहवेहको अभिषिक्त जनलाई मारेँ।’ “ 17 दावीदले शाऊल र तिनका छोरा जोनाथनका निम्ति यसरी विलाप गरे, 18 अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ): 19 हे इस्राएल, तेरो महिमा, तेरो उच्‍च स्थानमा ढालिएको छ। कसरी वीरहरू ढलेका छन्! 20 गातको सहरमा यो कुरा नभन्‍नू, न त अश्कलोनका गल्‍लीहरूमा घोषणा गर्नू, नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्। 21 “हे गिल्बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत नपरोस्, न त वृष्‍टि होस्, न त तिमीहरूका खेतमा अन्‍न दिने पानी परोस्; किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो, शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।" 22 मारिएकाहरूको रगतबाट, वीर मानिसको शरीरबाट, जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन। 23 “शाऊल र जोनाथन तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए; अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन। तिनीहरू गरुडभन्दा फूर्तिला थिए, तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए। 24 “हे इस्राएलका छोरीहरू हो, शाऊलका निम्ति रोओ, जसले तिमीहरूलाई रातो र मिहिन वस्त्र पहिर्‍याए, जसले तिमीहरूका वस्त्रहरूलाई सुनका गहनाले सिँगारिदिए।" 25 वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्। 26 मेरा भाइ, जोनाथन म तिम्रा निम्ति शोक गर्छु; तिमी मेरा निम्ति अति प्रिय थियौ। मप्रति तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमभन्दा पनि अझ उत्तम थियो। 27 “वीर मानिसहरू कसरी ढलेका छन्! लडाइँका हतियारहरू कसरी नष्‍ट भएका छन्!"

Everything we make is available for free because of a generous community of supporters.

Donate