2 थेसलोनिकी 2
NCB1 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ। 2 प्रभुको दिन आइसकेको छ भन्नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्वास नगर। 3 तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन। 4 त्यसले ईश्वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्वरको मन्दिरमा स्थापना गर्नेछ। 5 म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र? 6 अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्। 7 किनकि अधर्मको शक्ति गुप्त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ। 8 अनि तब त्यो अधर्मीको प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्ट पार्नुहुनेछ। 9 त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ। 10 अनि नष्ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्टतासहित आउनेछ। तिनीहरू नष्ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्। 11 यसकारण त्यस झूटमा तिनीहरूले विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ 12 र सत्यतामा विश्वास नगर्ने, तर दुष्टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्। 13 तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैँ धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्नुभयो । 14 उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो, ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्टको महिमामा सहभागी हुन सक। 15 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू। 16 हाम्रा प्रभु येशू ख्रीष्ट आफैँले, र हाम्रा परमेश्वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो; 17 उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।
