Menu

उपदेशक 1

NCB

1 दावीदका पुत्र, यरूशलेमका राजा, उपदेशकका वचनहरू: 2 “अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।" 3 मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र? 4 पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; तर पृथ्वी सदासर्वदा रहिरहन्छ। 5 सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ। 6 बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ। 7 सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्, र पनि समुद्र कहिल्यै भरिँदैन; जुन स्थानबाट ती नदीनालाहरू आउँछन्, ती फेरि त्यतैतिर फर्केर जान्छन्। 8 सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्‍ट हुँदैन; न त सुनेर कान तृप्‍त हुन्छ। 9 जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन। 10 के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्‍न सक्छ, “हेर! योचाहिँ नयाँ कुरा हो?” त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि। 11 विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्। 12 म उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ। 13 आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्‍वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। 14 सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो। 15 जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन। 16 मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्‍त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।" 17 तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ। 18 किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्‍ट पनि बढाउँछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate