उपदेशक 11
NCB1 आफ्नो अन्न समुद्रपारि पठाऊ; धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ। 2 सात, आठ भागमा लगानी गर; किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ। 3 यदि बादलहरू पानीले भरिएका छन् भने मात्र तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, त्यो ढलेकै ठाउँमा लडिरहन्छ। 4 जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन; अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन। 5 जसरी बतासको बाटो तिमी जान्दैनौ, अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ; त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्वरका कामहरू बुझ्न सक्दैनौ। 6 बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ। 7 ज्योति मनमोहक हुन्छ, सूर्यलाई देख्दा आँखाहरू प्रसन्न हुन्छन्। 8 मानिस जतिसुकै वर्ष बाँचोस्, त्यो ती सबैमा आनन्दित होस्। तर अन्धकारका समयहरू पनि धेरै हुन्छन् भनी स्मरण गरोस्। जे कुरा हुन आउँछ, सबै अर्थहीन छ। 9 हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ; जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्। आफ्ना हृदयले चाहेको र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ! तर याद राख: यी सबै कुराहरूका लागि परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ। 10 यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख, र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ; किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
