Menu

एस्तर 3

NCB

1 यी घटनाहरूपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई अरू अधिकारीहरूभन्दा उच्‍च दर्जाको पद दिएर सम्मान गरे। 2 राजाको मूलढोकामा सबै राजकीय अधिकारीहरूले घुँडा टेकेर हामानलाई सम्मान दिन्थे; किनकि राजाले यसो गर्न आज्ञा दिएका थिए। तर मोर्दकैले न घुँडा टेक्थे, न त सम्मान नै दिन्थे। 3 तब राजाका मूलढोकामा नियुक्त राजकीय अधिकृतहरूले मोर्दकैलाई सोधे, “तपाईंले किन राजाको आज्ञा उल्‍लङ्घन गर्नुहुन्छ?" 4 तिनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे, तर तिनले त्यो पालन गर्न अस्वीकार गरे। यसकारण तिनीहरूले मोर्दकैको व्यवहार स्वीकार्य छ कि छैन भनी, यस विषयमा हामानलाई भनिदिए; किनकि तिनले आफूलाई यहूदी भनेका थिए। 5 जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्‍ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए। 6 तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले। 7 राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा तिनीहरूले एउटा दिन र महिना छान्‍न भनी हामानको उपस्थितिमा एउटा पूर (अर्थात् चिट्ठा) हाले। अनि चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्‍यो। 8 तब हामानले राजा अहासूरसलाई भने, “तपाईंको राज्यका समस्त प्रान्तहरूमा धेरै जाति-जातिको बीचमा फैलिएर बसेको एउटा विशेष जाति छ; तिनीहरू आफैँलाई अरू जातिबाट अलग राख्छन्। तिनीहरूका रीतिहरू अरू जातिहरूका भन्दा फरक छन्; तर तिनीहरूले राजाका आज्ञापालन गर्दैनन्। यसकारण तिनीहरूलाई सहानुभूति देखाउनु राजाको हितमा छैन। 9 यदि राजालाई असल लाग्यो भने तिनीहरूलाई नष्‍ट गर्ने एउटा आदेश जारी गरियोस्; अनि म यो काम गर्ने राजाका प्रशासकहरूका निम्ति राजकीय भण्डारमा दश हजार टालेन्ट चाँदी दिनेछु।" 10 यसकारण राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट निकालेर अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानलाई दिए। 11 राजाले हामानलाई भने, “त्यो रकम आफूसँग राख, र ती मानिसहरूसित तिमीलाई जे इच्छा लाग्छ, त्यही गर।" 12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। हामानको आदेशमा तिनीहरूले विभिन्‍न प्रान्तहरूमा राजाका हाकिमहरू, अधिकृतहरू र विभिन्‍न जातिहरूका अधिकारीहरूलाई हरेक प्रान्तको लिपिअनुसार र हरेक जातिको भाषाअनुसार सबै आदेशहरू लेखियो। यो राजा अहासूरसकै नाममा लेखिएको थियो; अनि तिनको आफ्नै औँठीको छाप लगाइएको थियो। 13 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा राजाका सबै प्रान्तहरूमा सन्देशवाहकद्वारा उर्दी पत्रहरू पठाइयो। ती पत्रहरूमा एकै दिनमा सारा यहूदीहरू, जवान र वृद्ध, स्त्री र केटाकेटीहरूलाई नाश गर्नू, मार्नू र नामनिशानै मेटिदिनु; अनि तिनीहरूका धनसम्पत्तिहरू लुट्नू भन्‍ने हुकुम गरिएको थियो। 14 त्यो उर्दीको एउटा प्रतिलिपि प्रत्येक प्रान्तमा हरेक जातिका मानिसहरूमा कानुनझैँ पठाइयो, ताकि त्यस दिनका निम्ति तिनीहरू तयार होऊन्। 15 त्यो उर्दी लिएर तुरुन्तै ती सन्देश वाहकहरू निस्के; अनि त्यसलाई राजधानी शूशनमा जारी गरियो। राजा र हामानचाहिँ मद्य पिउन बसे, तर शूशनको सहरमा हलचल मच्‍चियो।

Everything we make is available for free because of a generous community of supporters.

Donate