Menu

प्रस्थान 30

NCB

1 “तैँले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाउनू। 2 त्यो वर्गाकार होस्। त्यो एक क्यूबिट लामो, एक क्यूबिट चौडा, र दुई क्यूबिट उचाइ होस्। त्यसका सिङहरू त्यससित एउटै टुक्राको होस्। 3 त्यसको टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोर्नू; अनि त्यसको चारैतिर सुनको बिट बनाउनू। 4 वेदीलाई बोक्ने डण्डाहरू अड्काउनलाई बिटको मुन्तिर दुवैतिर दुई वटा मुन्द्राहरू बनाउनू। 5 ती डण्डाहरू बबुल काठका बनाउनू र तिनीहरूलाई सुनले मोहोर्नू। 6 वेदीलाई साक्षी पाटीको सन्दुकको अगिल्तिर भएको पर्दाको सामु राख्नू। साक्षी पाटीको माथि रहेको पाप समाधान-स्थानको सामु, जहाँ म तँसित भेट गर्नेछु। 7 “हारूनले प्रत्येक बिहान बत्तीहरू मिलाउँदा वेदीमा सुगन्धित धूप जलाओस्। 8 त्यसले साँझमा बत्तीहरू बाल्दा फेरि धूप जलाओस् र आउने पुस्ताहरूका लागि याहवेहको सामु धूप नियमित रूपले जल्नेछ। 9 त्यस वेदीमा अरू कुनै किसिमका धूप अथवा होमबलि अथवा अन्‍नबलि नचढाउनू र त्यसमाथि कुनै अर्घबलि पनि नचढाउनू। 10 हारूनले वर्षमा एकपल्ट सिङहरूमा प्रायश्‍चित गर्नेछ। यो वार्षिक प्रायश्‍चित आउने पुस्ता-पुस्ताका लागि प्रायश्‍चितको पाप शुद्धीकरण बलिको रगतसित गरिनुपर्छ। याहवेहका निम्ति यो अति पवित्र हो।" 11 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, 12 “जब तैँले इस्राएलीहरूको गन्ती लिनलाई तिनीहरूको जनगणना गर्नेछस्, तब प्रत्येकले आफ्नो गन्तीको समयमा त्यसको प्राणका लागि याहवेहलाई छुटकाराको मोल तिरोस्। तब तैँले तिनीहरूलाई गन्ती गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन। 13 हरेक जो गन्ती भइसकेकाहरूपट्टि पार गरेर जान्छ, त्यसले पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल दिनुपर्नेछ (एक शेकेल बराबर बीस गेरा हुन्छ)। त्यो आधा शेकेल याहवेहका निम्ति भेटी हो। 14 बीस वर्ष र त्योभन्दा बढी उमेर पुगेका जति जना गनिन्छन्, सबैले याहवेहका निम्ति भेटी देऊन्। 15 तिमीहरूले आफ्नो प्रायश्‍चितका लागि याहवेहलाई भेटी चढाउँदा धनीहरूले आधा शेकेलभन्दा बढी र गरिबहरूले त्योभन्दा कम नदेओस्। 16 इस्राएलीहरूबाट प्रायश्‍चितको रकम लिएर त्यसलाई भेट हुने पालको सेवाका निम्ति प्रयोग गर्नू। तिमीहरूले आफ्नो प्राणको प्रायश्‍चित गर्दा याहवेहको सामु इस्राएलीहरूका निम्ति यो एउटा सम्झनास्वरूप हुनेछ।" 17 तब याहवेहले मोशालाई भन्‍नुभयो, 18 “धुनको लागि काँसोको खुट्टा भएको काँसोका धुने बाटा बनाउनू। त्यसलाई समागम पाल र वेदीको बीचमा राखेर त्यसमा पानी भर्नू। 19 हारून र त्यसका छोराहरूले त्यसमा भएको पानीले आफ्ना हातगोडा धोऊन्। 20 जब तिनीहरू समागम पालभित्र पस्छन्, तब हातगोडा धोएर मात्र पसून्, ताकि तिनीहरू नमरून्। साथै, जब तिनीहरू वेदीनेर सेवा गर्नलाई याहवेहका निम्ति अग्निबलि जलाउनलाई आउँछन्, 21 तब तिनीहरूले पानीले हातगोडा धोऊन्, र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्ततिका निम्ति तिनीहरूका पुस्ता-पुस्तासम्मका निम्ति अनन्तको धार्मिक विधि होस्।" 22 तब याहवेहले मोशालाई भन्‍नुभयो, 23 “निम्न लिखित असल मसाला लिनू: पाँच सय शेकेल तरल मूर्र, त्यसको आधा अथवा दुई सय पचास शेकेल बास्‍ना आउने दालचिनी, दुई सय पचास शेकेल सुगन्धित बोझो, 24 पाँच सय शेकेल तेजपात। सबै समागम पालको शेकेलको हिसाबले, र एक हिन जैतुनको तेल। 25 यी सबैबाट अभिषेकको पवित्र तेल बनाउनू, र बनाउने सिपालु व्यक्तिले बनाएको बास्‍नायुक्त होस्। त्यो अभिषेक गर्ने पवित्र तेल हुनेछ। 26 तब त्यस तेललाई समागम पाल, साक्षीको सन्दुक, 27 टेबुल र त्यसमा भएका सम्पूर्ण सामग्रीहरू, सामदान र त्यसका अरू उपकरणहरू, धूपको वेदी, 28 अनि होमबलिको वेदी र त्यसका सबै भाँडाहरू र बाटा, र त्यसलाई उभ्याउने चीजसमेत सबैलाई अभिषेक गर्नलाई प्रयोग गर्नू। 29 तैँले यी सबै कुराहरू पवित्र गर्नू, र तिनीहरू अति पवित्र हुनेछन्। जेसुकैले तिनीहरूलाई छोए तापनि त्यो पवित्र हुनेछ। 30 “हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर पवित्र गर्नू, र तिनीहरूले पुजारी भई मेरो सेवा गरून्। 31 इस्राएलीहरूलाई भन्, ‘यो आउने पुस्ताहरूका लागि मेरो पवित्र अभिषेकको तेल होस्। 32 यसलाई अरू कुनै मानिसहरूका शरीरहरूमा नखन्याउनू र यही तरिकाले कुनै तेल नबनाउनू। यो पवित्र हो, र तैँले यसलाई पवित्र ठान्‍नू। 33 जसले यस्तै सुगन्धित तेल बनाउँछ र जसले यसलाई पुजारीबाहेक अरूमाथि लगाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।’ “ 34 तब याहवेहले मोशालाई भन्‍नुभयो, “सुगन्धित मसलाहरू—कुन्द, धूप, नखी र सालधूप—अनि शुद्ध मूर्र सबै एकै परिमाणमा लिनू, 35 अनि अत्तर बनाउनमा सिपालु व्यक्तिद्वारा सुगन्धित धूप बनाउनू। त्यसमा नुन हाल्नुपर्छ, र त्यो शुद्ध र पवित्र हुनुपर्छ। 36 त्यसको केही भाग पिँधेर पिठो बनाउनू, र त्यसलाई समागम पालको साक्षी पाटीको सामु राख्नू, जहाँ म तँलाई भेट्नेछु। यो तेरा निम्ति अति पवित्र हुनेछ। 37 यस तरिकाले तिमीहरूले आफ्नो निम्ति कुनै धूप नबनाउनू; यसलाई याहवेहका निम्ति पवित्र ठान्‍नू। 38 जसले यस सुगन्धको आनन्द लिनलाई यस्तो बनाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।"

Everything we make is available for free because of a generous community of supporters.

Donate