Menu

इजकिएल 42

NCB

1 त्यसपछि ती मानिसले मलाई उत्तरपट्टि बाहिरी चोकमा पुर्‍याए; अनि मन्दिरको चोकको विपरीत भएका र उत्तरपट्टिको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा ल्याए। 2 उत्तरपट्टि फर्केको ढोका भएको भवन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा थियो। 3 भित्री चोकदेखि बीस क्यूबिट टाढाको खण्डमा र बाहिरी चोकको ढुङ्गा छापिएको पिँडीको विपरीत रहेको भाग दुवैमा एक-अर्कापट्टि फर्केका बार्दलीहरू तीन तहमा थिए। 4 कोठाहरूको सामु दश क्यूबिट चौडाइ र एक सय क्यूबिट लम्बाइ भएको एउटा भित्री बाटो थियो। तिनका कोठाहरूका ढोकाहरू उत्तरपट्टि फर्केका थिए। 5 माथिल्‍ला कोठाहरू साँघुरा थिए; किनकि भवनको बीचको तलामा बार्दलीहरूले तल्‍लो तलाको कोठाहरूले भन्दा बढी ठाउँ ओगटेका थिए। 6 माथिल्‍ला तलाका कोठाहरूका चोकहरूमा भएझैँ खम्बाहरू थिएनन्; यसकारण तिनीहरू भुइँको तला र बीचका तलाका कोठाहरूभन्दा साना थिए। 7 कोठाहरू र बाहिरी चोकको बराबरको एउटा बाहिरी भित्ता थियो; त्यो कोठाहरूका सामुको भाग पचास क्यूबिटसम्म फैलिएको थियो। 8 बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास क्यूबिट लामो थियो, र पवित्रस्थानको छेउको लहरचाहिँ एक सय क्यूबिट लामो थियो। 9 तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वार थियो। 10 मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए। 11 तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै, 12 दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्‍ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्‍न सकिन्थ्यो। 13 तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्‍नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ। 14 जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।" 15 जब तिनले मन्दिरको इलाकाभित्र भएका कुराहरू नापिसके, तब तिनले मलाई पूर्वी मूलढोकाबाट बाहिर ल्याए; अनि चारैतिरका ठाउँहरू नापे: 16 तिनले नाप्‍ने टाँगोले पूर्वका भाग नापे; त्यो पाँच सय क्यूबिट थियो। 17 तिनले उत्तरको भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। 18 तिनले दक्षिण भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। 19 तब तिनी पश्‍चिम भागपट्टि फर्केर त्यो नापे; नाप्‍ने टाँगोअनुसार त्यो पनि पाँच सय क्यूबिट थियो। 20 यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो।

Everything we make is available for free because of a generous community of supporters.

Donate