यशैया 1
NCB1 यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो। 2 हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्! किनकि याहवेह भन्नुहुन्छ: “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्। 3 गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड चिन्छ। तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।" 4 धिक्कार, त्यस पापी जाति, अपराधले लादिएको जाति, दुष्ट काम गर्नेहरूका सन्तान, भ्रष्ट भएका सन्तान! तिनीहरूले याहवेहलाई त्यागेका छन्; तिनीहरूले इस्राएलका पवित्र परमेश्वरलाई लत्याएका छन्, र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्। 5 तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ। 6 खुट्टाको पैतालादेखि शिरसम्म स्वस्थता छैन। चोटहरू र निलो डामहरू, र उदाङ्गो घाउहरू छन्; ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका अथवा तेलले सेकिएका छैनन्। 7 तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; तिमीहरूका खेतहरू तिमीहरूकै सामु परदेशीहरूले उजाड पारिदिएका छन्; अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ। 8 सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ। 9 यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्नेथियौँ। 10 हे सदोमका शासकहरू हो, याहवेहको वचन सुन; हे गमोराका मानिसहरू हो, हाम्रा परमेश्वरको व्यवस्था ध्यानसित सुन! 11 याहवेह भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्न हुँदिनँ। 12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, के तिमीहरूलाई कसैले मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र? 13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ दिन र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ। 14 तिमीहरूका औँसीका चाडहरू, र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। ती मेरा निम्ति बोझ भएका छन्; ती बोक्दा-बोक्दै म थकित भइसकेको छु। 15 तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्! 16 आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्ट कर्महरू मेरो दृष्टिबाट टाढा लैजाओ; खराबी गर्न छोड। 17 भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।" 18 याहवेह भन्नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्। 19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ; 20 तर यदि तिमीहरूले विरोध गर्यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ। 21 हेर, एउटा विश्वासयोग्य सहर कसरी वेश्याजस्तै भयो! कुनै समय त्यो न्यायपूर्ण थियो; धार्मिकताले त्यसमा वास गर्थ्यो, तर अहिले हत्याराहरूले वास गर्छन्! 22 तेरो चाँदी फोहोर भएको छ, तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ। 23 तेरा शासकहरू बागी, र चोरहरूका साथीहरू बनेका छन्; तिनीहरू सबैले घूस मन पराउँछन्, र उपहारहरूको पछि लाग्छन्। तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन। 24 यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु। 25 म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु; म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु, र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु। 26 म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै, तेरा सल्लाहकारहरूलाई सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर; एउटा विश्वासयोग्य सहर भनिनेछस्।" 27 सियोन न्यायसित छुटाइनेछ। त्यहाँका पश्चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्। 28 तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्; याहवेहलाई त्याग्नेहरू नाश हुनेछन्। 29 “तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण तिमीहरू लज्जित हुनेछौ; तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै तिमीहरू अपमानित हुनेछौ। 30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, पानी नभएका बगैँचाजस्तै हुनेछौ। 31 शक्तिशाली मानिस सुकेको दाउरा र त्यसको काम झिल्काजस्तै हुनेछ; ती दुवै एकैसाथ जल्नेछन्, त्यो आगोलाई निभाउने कोही हुनेछैन।"
