यशैया 13
NCB1 आमोजको छोरा यशैयाले बेबिलोनको विषयमा देखेका भविष्यवाणी: 2 नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर; तिनीहरूतर्फ उच्च सोरले कराओ; तिनीहरू कुलीन मानिसहरूका मूलढोकाभित्र प्रवेश गरून्। 3 मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु: युद्धका निम्ति तयार पारेका आफ्ना योद्धाहरूलाई आज्ञा गरेको छु, जो मेरो विजयमा रमाउँछन्। 4 पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो होहल्ला सुन्! जातिहरू एकसाथ भेला भएझैँ, राज्यहरूको बीचमा होहल्ला सुन्! सेनाहरूका याहवेहले युद्धका निम्ति सेना बटुल्दै हुनुहुन्छ। 5 याहवेह र उहाँका रिसका हतियारहरू टाढा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्। 6 विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ; सर्वशक्तिमान्को तर्फबाट सर्वनाशजस्तै त्यो आउनेछ। 7 यसैले सबै हातहरू लुला हुनेछन्। हरेक मानिसको हृदय पग्लनेछ। 8 तिनीहरू त्रसित हुनेछन्; तिनीहरूलाई कष्ट र वेदनाले पक्रनेछन्; तिनीहरू प्रसव-वेदनामा परेकी स्त्रीझैँ छटपटाउनेछन्। तिनीहरू हैरान भएर एक-अर्कातिर हेर्नेछन्; तिनीहरूका अनुहारहरू डरले गर्दा फिका हुनेछन्। 9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न, रिस र भयानक क्रोधको साथ निष्ठुर दिन आइरहेछ। 10 आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले आफ्ना प्रकाश देखाउनेछैनन्। उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ; अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन। 11 म संसारलाई त्यसको दुष्टताको लागि, र दुष्टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु। म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु, र निष्ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु। 12 म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु, ओपीरको सुनभन्दा दुर्लभ। 13 यसकारण म आकाशहरूलाई थरथर काम्ने तुल्याउनेछु; सेनाहरूका याहवेहको क्रोधको दिनमा, उहाँको बल्दो रिसको दिनमा पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ। 14 खेदिएको हरिणझैँ, गोठाला नभएको भेडाहरूझैँ, सबै आफ्नै मानिसकहाँ फर्कनेछन्; आफ्नै जन्मभूमिमा भागेर जानेछन्। 15 पक्राउ परेका जोसुकै पनि रोपिनेछन्; समातिएका जति सबै तरवारद्वारा मारिनेछन्। 16 तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्; तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्। 17 हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्याउनेछु, जसले चाँदीको वास्तै गर्दैनन्, र सुनमा प्रसन्न हुँदैनन्। 18 तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्; शिशुहरूमाथि तिनीहरूले दया देखाउनेछैनन्, न त तिनीहरूले बालबालिकाहरूप्रति कृपा देखाउनेछन्। 19 राज्यहरूको रत्न बेबिलोन, बेबिलोनीहरूका घमण्डको गौरवलाई परमेश्वरले सदोम र गमोराझैँ पल्टाइदिनुहुनेछ। 20 त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन, अथवा पुस्तौँसम्म कोही बस्नेछैनन्; कुनै घुमन्तेलेधरि त्यहाँ आफ्नो पाल टाँग्नेछैन; कुनै गोठालाले त्यहाँ आफ्नो बगाललाई विश्राम दिनेछैन। 21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्; तिनका घरहरू स्यालहरूले भरिनेछन्; उल्लुहरू त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्। 22 हुँडारहरू तिनका किल्लाहरूमा तिनका आनन्दको महलहरूमा स्यालहरू कराउनेछन्। बेबिलोनको समय नजिक आएको छ, चाँडै यी सबै पूरा हुनेछन्।
