Menu

यशैया 19

NCB

1 इजिप्टको विरुद्धमा भविष्यवाणी: हेर, याहवेह तेजिलो बादलमा सवार भएर इजिप्टमा आउँदैहुनुहुन्छ। इजिप्टका मूर्तिहरू उहाँको सामु थरथर काँप्छन्; अनि इजिप्टियनहरूका हृदय भित्रभित्रै पग्लन्छन्। 2 “म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्‍याउनेछु— दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— छिमेकीको विरुद्ध छिमेकी, सहरको विरुद्ध सहर, राज्यको विरुद्ध राज्य। 3 इजिप्टियनहरू निराश हुनेछन्, र म तिनीहरूको योजना विफल गराउनेछु; तिनीहरूले मूर्तिहरू र मरेकाहरूका आत्मासित, तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनेछन्। 4 म इजिप्टियनहरूलाई निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। 5 नदीका पानी सुकेर जानेछन्, र त्यो नदीको सतह घटेर सुक्खा हुनेछ। 6 नहरहरू गन्हाउनेछन्; इजिप्टका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँस ओइलाउनेछन्। 7 नील नदीका किनारका र नदीका नजिकै भएका बिरुवाहरू पनि ओइलाउनेछन्। नील नदीका किनारमा लगाएका प्रत्येक बाली सुकेर जानेछ, र ती बतासले उडाएर लैजानेछ। 8 सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, जो नील नदीमा जाल हान्छन्; पानीमा जाल हान्‍नेहरू दुःखित हुनेछन्। 9 कपडा बनाउनेहरू निराश हुनेछन्, मसिनो सनपाट बुन्‍नेहरूले आशा मार्नेछन्। 10 कपडा बुन्‍नेहरू उदास हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय दुःखित हुनेछ। 11 सोअनका अधिकृतहरू सबै मूर्ख छन्; फारोका बुद्धिमानी सल्‍लाहकारहरूले अर्थहीन सल्‍लाह दिन्छन्। तिमीहरूले फारोलाई, “म बुद्धिमानी मानिसहरूमध्ये एक हुँ, प्राचीन राजाहरूको एक चेला हुँ” भनेर कसरी भन्‍न सक्छौ? 12 तेरा बुद्धिमान् मानिसहरू अहिले कहाँ छन्? इजिप्टको विरुद्ध सेनाहरूका याहवेहले कस्तो योजना गर्नुभएको छ भनी तिनीहरूले तँलाई देखाऊन्। 13 सोअनका अधिकृतहरू मूर्ख भएका छन्; मेम्फिसका अगुवाहरू धोकामा परेका छन्; त्यसका मानिसहरूका कुने-ढुङ्गाहरूले इजिप्टलाई बहकाएका छन्। 14 याहवेहले तिनीहरूलाई विचलित गराउने आत्मा खन्याइदिनुभएको छ; मतवाला आफ्नो बान्ताको वरिपरि धरमरिएझैँ; तिनीहरूले इजिप्टलाई आफूले गरेका सबै काममा ढलपल गर्ने तुल्याएका छन्। 15 इजिप्टले गर्न सक्ने केही छैन— चाहे शिर होस् वा पुच्छर, खजूरको हाँगा होस् वा निगालो। 16 त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्। 17 तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्। 18 त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको सहर भनिनेछ। 19 त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ। 20 त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ। 21 यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्‍नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्। 22 याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ। 23 त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। 24 त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ। 25 सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।"

Everything we make is available for free because of a generous community of supporters.

Donate