Menu

यशैया 24

NCB

1 हेर, याहवेहले पृथ्वीलाई उजाड पार्न र त्यसलाई विनाश गर्न लाग्नुभएको छ; उहाँले त्यसको सतह नष्‍ट पारिदिनुहुनेछ; अनि त्यसका बासिन्दाहरूलाई छरपस्ट पारिदिनुहुनेछ। 2 यस्तो हालतचाहिँ सबैका निम्ति एकैनास हुनेछ: जस्तो सर्वसाधारणको हालत, पुजारीहरूको पनि त्यस्तै हालत, जस्तो कमाराको हालत, मालिकको पनि त्यस्तै हालत, जस्तो कमारीको हालत, मालिक्नीको पनि त्यस्तै हालत, जस्तो किन्‍नेको हालत, बेच्नेको पनि त्यस्तै हालत, जस्तो ऋण दिनेको हालत, ऋण लिनेको पनि त्यस्तै हालत हुनेछ। 3 पृथ्वी पूर्ण रूपले उजाड रहनेछ; अनि पूर्ण रूपले लुटपाट गरिनेछ। याहवेहले यो वचन बोल्नुभएको हो। 4 पृथ्वी सुक्नेछ र ओइलाउनेछ; संसारले विलाप गर्नेछ र ओइलाउनेछ; पृथ्वीका उच्‍च मानिसहरू दुर्बल हुनेछन्। 5 पृथ्वी त्यसमा भएका मानिसहरूद्वारा अशुद्ध भएको छ; तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, आज्ञाहरू उल्‍लङ्घन गरेका छन्; अनि अनन्तको करार तोडेका छन्। 6 यसकारण श्रापले पृथ्वीलाई निलिहाल्छ; यसका मानिसहरूले आफ्ना दोषको दण्ड भोग्नुपर्छ। यसकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन्; अनि थोरै मात्र बाँकी रहेका छन्। 7 नयाँ दाखमद्य सुकेर जान्छ र दाख ओइलाउँछ; आनन्द मनाउनेहरू सबै सुस्केरा हाल्छन्। 8 खैँजडीको हर्ष बन्द भएको छ, हर्ष मनाउनेहरूको हल्‍ला रोकिएको छ, हर्षपूर्ण वीणाको आवाज बन्द छ। 9 तिनीहरूले गीतसित मद्य पिउन छोडे; मद्य पिउनेहरूलाई त्यो तितो लाग्छ। 10 ध्वंस भएको सहर उजाड भएको छ; हरेक घरको प्रवेशद्वार बन्द भएको छ। 11 सडकहरूमा तिनीहरू मद्यको निम्ति कराउँछन्; सबै आनन्द शोकमा परिणत हुन्छन्, सबै उल्‍लास पृथ्वीबाट हराइसक्यो। 12 सहर ध्वंस भएको अवस्थामा छोडिएको छ, त्यसका मूलढोकाहरू टुक्रा-टुक्रा पारिएका छन्। 13 जैतुनको रूख हल्‍लाउँदा फलहरू झरे जस्तो, अथवा अङ्‌गुर टिपिसकेपछि शिला छोडिएको जस्तो, त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ। 14 तिनीहरूले आफ्ना सोर उचाल्छन्, तिनीहरू आनन्दसाथ कराउँछन्; पश्‍चिमबाट तिनीहरूले याहवेहको महानताको जयजयकार गर्छन्। 15 यसकारण पूर्वमा याहवेहलाई महिमा देओ; याहवेह, इस्राएलका परमेश्‍वरको नाम समुद्रका टापुहरूमा पनि उच्‍च पार। 16 पृथ्वीको अन्तिम छेउबाट हामी गाएका सुन्छौँ: “धर्मीलाई महिमा होस्।” तर मैले भनेँ, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु! मलाई धिक्‍कार छ! धोकाबाजीहरूले विश्‍वासघात गर्छन्! बेइमानीसाथ धोकाबाजीहरूले विश्‍वासघात गर्छन्!" 17 हे पृथ्वीका मानिस हो, तिमीहरूलाई आतङ्क, खाडल र पासोले पर्खिरहेका छन्। 18 आतङ्कको सोरमा भाग्नेहरू खाडलमा पर्नेछन्; खाडलबाट माथि चढ्नेहरू पासोमा पर्नेछन्। स्वर्गका भलका मूलढोकाहरू उघारिनेछन्, पृथ्वीका जगहरू हल्‍लिन्छन्। 19 पृथ्वी टुक्रिएको छ, पृथ्वी भाग-भाग भएको छ, पृथ्वी जोडसित हल्‍लिएको छ। 20 पृथ्वी मतवालाझैँ धरमराउँछ, झुप्रोलाई हावाले हल्‍लाएझैँ त्यो हल्‍लिन्छ; त्यसको विद्रोहको दोष यति गह्रौँ छ कि त्यो ढल्नेछ—कहिल्यै उठ्नेछैन। 21 त्यस दिन याहवेहले माथि आकाशका शक्तिहरूलाई र तल पृथ्वीमा भएका राजाहरूलाई दण्ड दिनुहुनेछ। 22 तिनीहरू खाडलभित्र बाँधेर राखिएका कैदीहरूझैँ एकसाथ थुपारिनेछन्; तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, र धेरै दिनपछि दण्ड भोग्नेछन्। 23 चन्द्रमाले शर्म मान्‍नेछ, र सूर्य लज्जित हुनेछ; किनकि सेनाहरूका याहवेहले सियोन पर्वतमा, यरूशलेममा, र त्यसका प्रधानहरूको सामु महिमासित शासन गर्नुहुनेछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate