Menu

यशैया 28

NCB

1 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुटलाई, र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ; त्यो सहर, जसको घमण्डलाई दाखमद्यले होच्याइएको छ! 2 हेर, प्रभुको एक जना शक्तिशाली र बलवान् जन छन्। तिनले असिना र नाश गर्ने हुरीजस्तै, मुसलधार वर्षाको उर्लंदो पानीको बाढीजस्तै, त्यसलाई जबरजस्ती भुइँमा फाल्नेछन्। 3 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुट, खुट्टामुनि कुल्चीमिल्ची पारिनेछ। 4 त्यो ओइलाउँदै गरेको फूल, मलिलो बेँसीको शिरमाथि लगाएको त्यसको महिमा, कटनीको अगि नै पाकेको नेभाराझैँ हुनेछ; मानिसहरूले यसलाई देख्नेबित्तिकै हातमा लिन्छन्, र तिनीहरूले यसलाई निलिहाल्छन्। 5 त्यस दिन सेनाहरूका याहवेह एउटा महिमित मुकुट, र आफ्ना बाँकी रहेका मानिसहरूका निम्ति एउटा सुन्दर माला बन्‍नुहुनेछ। 6 न्याय गर्न बस्‍नेका निम्ति उहाँ न्यायको आत्मा, र लडाइँ मूलढोकातिर नै फर्काइदिनेहरूका निम्ति उहाँ सामर्थका स्रोत हुनुहुनेछ। 7 तिनीहरू पनि मद्यले लरबरिन्छन्, र मदिरा पिएर भड्किएका छन्: पुजारी र अगमवक्ताहरू मताउने पेय पदार्थ पिएर धरमरिन्छन्, र मद्यले उन्मत्त हुन्छन्; तिनीहरू मद्यले धरमराएका छन्, दर्शन देख्दा तिनीहरू धरमरिएका छन्; तिनीहरू निर्णय दिँदा भड्किन्छन्। 8 सबै टेबुलहरू बान्ताले भरिएका छन्; अनि फोहोर नभएको ठाउँ एउटै पनि छैन। 9 “त्यसले कसलाई सिकाउन चाहेको छ? आफ्नो सन्देश कसलाई बयान गरिरहेको छ? भर्खर दूध छोडेका बच्‍चाहरू, भर्खर स्तनबाट अलग गरिएकाहरूलाई? 10 किनकि त्यो यस्तो हो: यो गर, त्यो गर; यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ।" 11 त्यसो हो भने परमेश्‍वरले यस जातिसित परदेशीका ओठ र अनौठो भाषाद्वारा बोल्नुहुनेछ; 12 जसलाई उहाँले भन्‍नुभयो, “विश्रामस्थल यही हो; थाकेकाहरूले यहीँ नै विश्राम गरून्;” अनि “थकाइ मार्ने स्थान यही हो,” तर तिनीहरूले सुन्‍न इन्कार गरे। 13 यसकारण याहवेहको वचन तिनीहरूलाई यस्तो हुनेछ: यो गर, त्यो गर, यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ, यसरी तिनीहरू अगि बढ्दा पछिल्तिर लोटून्; घाइते होऊन् र पासोमा परेर पक्राउ परून्। 14 यसकारण हे गिल्‍ला गर्नेहरू हो, याहवेहको वचन सुन, जसले यी मानिसहरूमाथि यरूशलेममा शासन गर्छौ। 15 तिमीहरू घमण्ड गर्छौ, “हामीले मृत्युसित करार बाँधेका छौँ; चिहानसित हामीले सम्झौता गरेका छौँ। कुनै भयानक विपत्ति छेउमा आइपर्दा, त्यसले हामीलाई छुन सक्दैन; किनकि हामीले झूटलाई आफ्नो शरणस्थान र असत्यलाई आफ्नो लुक्ने स्थान बनाएका छौँ।" 16 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा, एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा, त्यसमा भरोसा गर्ने कहिल्यै निराश हुनेछैन। 17 म न्यायलाई नाप्‍ने डोरी, र धार्मिकतालाई साहुल बनाउनेछु; तिमीहरूको झूटको शरणस्थान असिनाले सोहोरेर लानेछ; अनि पानीले तिमीहरूको लुक्ने ठाउँलाई बगाइदिनेछ। 18 मृत्युसितको तिमीहरूको करार नष्‍ट पारिनेछ; चिहानसितको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढी यताबाट जानेछ, त्यसले तिमीहरूलाई डुबाउनेछ। 19 जतिपल्ट त्यो आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ; हरेक बिहान, दिन र रातमा त्यो बगिरहनेछ।” यस सन्देशको बुझाइले आतङ्क मात्र ल्याउनेछ। 20 लम्पसार पर्नलाई पलङ साह्रै छोटो छ, र तिमीहरूलाई ढाक्न कम्बल साह्रै सानो छ। 21 पराजीम पर्वतमा उठ्नुभएझैँ याहवेह उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, आफ्नो अद्‌भुत कार्य पूरा गर्न। 22 अब तिमीहरूको ठट्टा रोक, नत्रता तिमीहरूका साङ्लाहरू अझ गह्रौँ हुनेछन्; प्रभु, सेनाहरूका याहवेहले मलाई सारा देशको विरुद्ध उर्दी जारी गर्नुभएको छ। 23 ध्यान दिएर सुन, र मेरो सोर सुन; ध्यान देऊ, र म के भन्छु, सो सुन। 24 जब किसानले केही रोप्न जमिन जोत्छ, के उसले निरन्तर जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्‍लाहरू फुटाउँदै रहन्छ? 25 उसले माटो सम्म पारेपछि के उसले सुँप र जीरा छर्दैन र? के उसले त्यसकै ठाउँमा गहुँ, जौ त्यसकै ठाउँमा र कठियालाई त्यसकै ठाउँमा छर्दैन र? 26 उसका परमेश्‍वरले उसलाई अह्राउनुहुन्छ; अनि उसलाई ठिक तरिका सिकाउनुहुन्छ। 27 किनकि कुनै तीखो हतियारले सुँप झाँटिदैन, न त जीरालाई गाडाको चक्‍काले दाइँ गरिन्छ; तर लहुरोले सुँप चुटिन्छ, र जीराचाहिँ लठ्ठीले चुटिन्छ। 28 रोटी बनाउने अन्‍न पिसिनुपर्छ; यसकारण कसैले त्यसलाई सधैँ झाँटिरहँदैन। न त उसले त्यसमाथि गाडाको चक्‍का गुडाएर उसका घोडाहरूले त्यसलाई पिँध्छ। 29 यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ, जसको योजना अचम्मका र बुद्धि महान् छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate