Menu

यशैया 3

NCB

1 अब हेर, प्रभु सेनाहरूका याहवेहले यरूशलेम र यहूदाबाट सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू, 2 वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र वृद्ध मानिसहरू, 3 पचास माथिका सेनापति र उच्‍च पदाधिकारी, सल्‍लाहकार, सिपालु कारिगर र चतुर जादुगर। 4 “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।" 5 मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। वृद्धको विरुद्धमा जवान, र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ। 6 एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्‍नेछ, “तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन, र यस भग्नावशेषको जिम्मा लेऊ!" 7 तर त्यस दिन त्यसले कराएर भन्‍नेछ, “म उपचार गर्ने मानिस होइन। मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; मलाई मनिसहरूका अगुवा नबनाओ।" 8 यरूशलेम धरमरिँदैछ, यहूदा लड्दैछ; तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्; तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्। 9 तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ; तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्; तिनीहरूले ती लुकाउँदैनन्। तिनीहरूलाई धिक्‍कार! तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्। 10 धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्। 11 दुष्‍टहरूलाई धिक्‍कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्। 12 जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्। 13 याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ। 14 याहवेहले आफ्ना मानिसहरूका प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ; गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ। 15 मेरा मानिसहरूलाई धुलोपिठो बनाएको अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। 16 याहवेह भन्‍नुहुन्छ, “सियोनका स्त्रीहरू अभिमानी छन्, तिनीहरू गर्दन ठड्याउँदै र विलासी आँखाहरू तर्काउँदै, नक्‍कल पार्दै कल्‍ली लगाएर छमछम गर्दै हिँड्छन्। 17 यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ, र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।" 18 त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू, 19 झुम्काहरू र बालाहरू र घुम्टाहरू, 20 शिरका सिङ्गारहरू, कल्‍ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू, 21 छाप-औँठीहरू र नत्थहरू, 22 मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू, 23 अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्‍लाहरू खोसेर लैजानुहुनेछ। 24 सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ; पटुकाको साटो डोरी; राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ; मसिनो वस्त्रको साटो भाङ्ग्रा; सुन्दरताको साटो डामै-डाम हुनेछ। 25 तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; तेरा योद्धाहरू लडाइँमा मारिनेछन्। 26 सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; आश्रयविहीन भई तिनी भुइँमा बस्‍नेछिन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate