Menu

न्यायकर्ता 18

NCB

1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि ती दिनहरूमा दानवंशीहरूले बसोबास गर्नलाई आफ्नै ठाउँ खोजिरहेका थिए। किनकि तिनीहरू इस्राएलका कुलहरूको बीचमा आफ्नै उत्तराधिकारमा आइपुगेका थिएनन्। 2 यसकारण दानवंशीहरूले सोरा र एश्तोलबाट त्यो ठाउँ जासुसी गर्न र भेद लिनका लागि पाँच जना योद्धाहरूलाई पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्दथे। तिनीहरूले यिनीहरूलाई यसो भनेका थिए, “जाओ, गएर देशको भेद लेओ।” यसकारण ती मानिसहरू एफ्राइमको पहाडी मुलुकमा आइपुगे, र मीकाको घरमा आएर रात बिताए। 3 जब तिनीहरू मीकाको घरको छेउनिर पुगे, तब तिनीहरूले त्यस जवान लेवीको सोर चिने। यसकारण तिनीहरू त्यतैतिर पुगेर तिनलाई सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यो ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?" 4 तिनले आफूलाई मीकाले के गरेका थिए, त्यो तिनीहरूलाई भनिदिए, र भने, “तिनले मलाई ज्यालामा लिएका छन्। म तिनको पुजारी भएको छु।" 5 तब उनीहरूले तिनलाई भने, “कृपया हाम्रो यात्रा सफल हुन्छ कि हुँदैन? परमेश्‍वरसित सोधिदेऊ।" 6 ती पुजारीले तिनीहरूलाई जवाफ दिए, “शान्तिसित जाओ। तिमीहरूको यात्रालाई याहवेहले समर्थन गर्नुभएको छ।" 7 यसकारण ती पाँच जना मानिसहरू त्यस ठाउँलाई छोडेर लेशमा आए, र त्यहाँका मानिसहरूलाई सुरक्षामा रहेका सीदोनीहरूझैँ शान्त र सुरक्षित देखे। तिनीहरूको देशमा केही अभाव नभएको कारण तिनीहरूले उन्‍नति गरेका थिए। तिनीहरू सीदोनीहरूभन्दा टाढा पनि थिए, र अरू कसैसित तिनीहरूको केही सम्बन्ध पनि थिएन। 8 तिनीहरू सोरा र एश्तोलमा फर्किआएपछि तिनीहरूका दाजुभाइहरूले “तिमीहरूले के-के भेट्यौ?” भनी तिनीहरूलाई सोधे। 9 तिनीहरूले जवाफ दिए, “जाऔँ, हामी तिनीहरूमाथि कब्जा गरौँ! हामीले त्यो देश देख्यौँ। त्यो अति नै राम्रो रहेछ। तपाईंहरू किन चुपचाप बसिरहनुहुन्छ? त्यहाँ गएर त्यसलाई कब्जा गर्न बियाँलो नगर्नुहोस्! 10 जब तपाईंहरू त्यहाँ पुग्नुहुनेछ, तब निस्फिक्रीसाथ बसेका मानिसहरू र फराकिलो ठाउँ देख्नुहुनेछ। किनकि परमेश्‍वरले त्यो तपाईंहरूको हातमा दिनुभएको छ, अर्थात् यस्तो देश, जसमा कुनै पनि कुराको अभाव छैन।" 11 तब दानको वंशबाट छ सय मानिसहरू लडाइँका निम्ति हतियार भिरेर सोरा र एश्तोलबाट निस्के। 12 बाटोमा तिनीहरूले यहूदाको किर्यत-यारीममा छाउनी हाले। यसैकारण किर्यत-यारीमको पश्‍चिमतिरको ठाउँलाई आजको दिनसम्म महनेन-दान भनिन्छ। 13 त्यहाँबाट तिनीहरू एफ्राइमको पहाडी मुलुकमा गए, र मीकाको घरमा आए। 14 तब लेश देशको भेद लिने ती पाँच जना मानिसहरूले आफ्ना दाजुभाइहरूलाई भने, “के यी घरहरूमध्ये एउटामा एपोद, अरू घर-देवताहरू, एउटा खोपिएको आकृति र एउटा ढालेर बनाएको मूर्ति छन् भनेर तिमीहरूलाई थाहा छ? अब के गर्नुपर्ने हो, त्यो तिमीहरू जान्दछौ।" 15 यसकारण तिनीहरू त्यहाँ गए, र मीकाको ठाउँमा भएको त्यस जवान लेवीको घरमा गएर तिनलाई अभिवादन गरे। 16 छ सय दानवंशीहरूचाहिँ युद्धका निम्ति हतियार भिरेर मूलढोकाको प्रवेशद्वारमा उभिए। 17 त्यस देशको भेद लिने ती पाँच जना मानिसहरू घरभित्र पसे, र खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू लिए। अनि ती पुजारीहरू र छ सय हतियार भिरेका मानिसहरू मूलढोकाको प्रवेशद्वारमा उभिरहे। 18 जब ती मानिसहरूले मीकाको घरमा गएर खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू र ढालेर बनाएको मूर्ति लिए, तब ती पुजारीले तिनीहरूलाई भने, “तपाईंहरू के गर्दै हुनुहुन्छ?" 19 तब तिनीहरूले तिनलाई जवाफ दिए, “चुप लाग्नुहोस्! एक शब्द पनि नबोल्नुहोस्! हामीसित आएर हाम्रा बुबा र पुजारी हुनुहोस्! के एउटा मानिसको घरमा सेवा गर्नुभन्दा इस्राएलमा कुल र वंशकहाँ पुजारीको रूपमा सेवा गर्नु तपाईंलाई असल होइन र?" 20 तब ती पुजारी खुशी भए। तिनी एपोद, घर-देवताहरू र खोपिएको आकृति लिएर ती मानिसहरूसित गइहाले। 21 तिनीहरूका साना छोराछोरीहरू, तिनीहरूका गाईबस्तु र सरसामानहरू आफ्ना अगि लगाएर तिनीहरू फर्केर गइहाले। 22 तिनीहरू मीकाको घरदेखि केही टाढा पुगेपछि मीकाका छिमेकीहरू एकसाथ भेला भए; अनि तिनीहरूले उनीहरूलाई खेदेर भेट्टाए। 23 तिनीहरूले उनीहरूलाई कराएर बोलाउँदा ती दानवंशीहरूले मीकालाई भने, “तिमीहरूलाई के भयो, र तिमीहरूले आफ्ना मानिसहरूलाई किन लडाइँका लागि बोलायौ?" 24 तिनले जवाफ दिए, “तपाईंले मैले बनाएका देवी-देवताहरू र मेरा पुजारीलाई लैजानुभयो। अब मसित अरू के रह्‍यो र? तपाईंहरूले ‘तिमीहरूलाई के भयो?’ भनेर कसरी सोध्न सक्नुहुन्छ?" 25 दानवंशीहरूले जवाफ दिए, “हामीसित तर्क नगर। नत्रता केही रिसाहा मानिसहरूले तिमीमाथि आक्रमण गर्लान्, र तिमी र तिम्रो परिवारले आफ्ना प्राण गुमाउनुपर्ला!" 26 यसकारण दानवंशीहरू आफ्नो बाटो लागे, र तिनीहरू आफूभन्दा धेरै बलिया देखेर मीका फर्केर घरतिर लागे। 27 तब तिनीहरूले मीकाले बनाएका चीजहरू अनि तिनको पुजारीलाई लिएर शान्तिप्रिय र निस्फिक्री मानिसहरूका विरुद्धमा लेशमा गए। तिनीहरूले उनीहरूमाथि तरवारले आक्रमण गरे, र तिनीहरूको त्यो सहर आगोले जलाइदिए। 28 तिनीहरूलाई छुटाउने कोही थिएनन्। किनकि तिनीहरू सीदोनदेखि धेरै टाढा बस्थे। अनि अरू कसैसित पनि तिनीहरूको सम्बन्ध थिएन। त्यो सहर बेथ-रेहोबको छेउमा भएको बेँसीमा थियो। दानवंशीहरूले त्यस सहरलाई पुनर्निर्माण गरे, र त्यहीँ बसोबास गर्न लागे। 29 त्यस सहरलाई लेश भनिए तापनि तिनीहरूका पुर्खा दानको नाममा दान भनी राखे। 30 त्यहाँ दानवंशीहरूले ती मूर्तिहरू खडा गरे; अनि मोशाका छोरा, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरूचाहिँ देश कैदमा नलगिएसम्म दानको कुलका पुजारीहरू भएर बसे। 31 परमेश्‍वरको घर शीलोमा भइरहेसम्म तिनीहरूले मीकाले बनाएका मूर्तिहरू प्रयोग गरिरहे।

Everything we make is available for free because of a generous community of supporters.

Donate