Menu

यर्मिया 13

NCB

1 याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, गएर एउटा सुतीको पटुका किन् र त्यसलाई आफ्नो कम्मरमा बाँध्, तर त्यसलाई पानीले भिज्न नदे।" 2 यसकारण याहवेहले हुकुम गर्नुभएझैँ मैले एउटा सुतीको पटुका किनेँ र आफ्नो कम्मरमा बाँधेँ। 3 तब याहवेहको वचन दोस्रोपल्ट मकहाँ आयो: 4 “तैँले किनेको तेरो कम्मरमा बाँधिराखेको पटुका लिएर अब परात नदीमा जा, र त्यसलाई त्यहाँ चट्टानको एउटा दुलोमा लुकाइराख्।" 5 यसकारण याहवेहले मलाई भन्‍नुभएझैँ म परातमा गएँ, र त्यस पटुकालाई चट्टानमा लुकाएँ। 6 केही दिनपछि याहवेहले मलाई भन्‍नुभयो, “परातमा जा, र मैले तँलाई लुकाउन लगाएको पटुका त्यहाँबाट लिएर आइज।" 7 यसकारण म परातमा गएँ, र मैले पटुकालाई लुकाइराखेको ठाउँबाट खनेर निकालेँ, तर त्यो पटुका मक्‍किएर कामै नलाग्ने भएको पाएँ। 8 तब याहवेहको वचन मकहाँ आयो: 9 “याहवेह यसो भन्‍नुहुन्छ: ‘ठिक यसरी नै म यहूदाको र यरूशलेमको घमण्डलाई नष्‍ट गर्नेछु। 10 यी दुष्‍ट मानिसहरू, जसले मेरा वचन सुन्‍न इन्कार गर्छन्; तिनीहरू आफ्ना हृदयलाई कठोर पार्दै अरू देवी-देवताको पूजा गर्न र सेवा गर्न जान्छन्। यस्ता मानिसहरू यही पटुकाजस्तै पूर्ण रूपले केही कामको हुँदैनन्! 11 किनकि मानिसले पटुका कम्मरमा बाँधेझैँ, मैले इस्राएलको र यहूदाको सम्पूर्ण घरानालाई मेरो ख्याति, प्रशंसा र सम्मानको निम्ति प्रजा हुनेछन् भनी मैले तिनीहरूलाई आफ्नो कम्मरमा बाँधेँ, तर तिनीहरूले मेरो आज्ञापालन गरेनन्,’ याहवेह घोषणा गर्नुहुन्छ। 12 “यसकारण तिनीहरूलाई भन्: ‘याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हरेक मशक दाखमद्यले भरिएको हुनुपर्छ।’ अनि तिनीहरूले यदि तँलाई, ‘प्रत्येक मशक दाखमद्यले भरिनुपर्छ भन्‍ने कुरा के हामीलाई थाहा छैन?’ भनी भनेछन् भने, 13 तब तिनीहरूलाई यसरी भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: दावीदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्‍नेहरू सबैलाई र यस देशका बासिन्दाहरू सबैलाई म दाखमद्यले मताइदिनेछु। 14 म तिनीहरूलाई आमाबुबाहरू र छोराछोरीहरू समेतलाई एक-अर्काको विरुद्धमा जुधाइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। मलाई दया, माया, कृपा अथवा कुनै पनि कुराले तिनीहरूलाई सर्वनाश गर्नबाट रोक्न सक्दैन।’ “ 15 सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ। 16 परमेश्‍वरले अन्धकार ल्याउन अगि, अँध्यारो डाँडाहरूमा तिमीहरूका खुट्टाहरू ठेस खानुभन्दा अगि, याहवेह तिमीहरूका परमेश्‍वरलाई महिमा देओ। तिमीहरू उज्यालोको आशा गर्दछौ, तर उहाँले ज्योतिलाई घोर अन्धकारमा बदली दिनुहुनेछ; अनि त्यसलाई गहिरो अन्धकार तुल्याइदिनुहुनेछ। 17 तर तिमीहरूले अझै पनि सुन्‍न इन्कार गर्‍यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्‍तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ। 18 राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्‍नेछन्।" 19 दक्षिणमा भएका सहरहरू घेरामा पर्नेछन्; अनि तिनीहरूलाई सहायता गर्ने कोही हुनेछैनन्। समस्त यहूदालाई निर्वासनमा लगिनेछ, तिनीहरू पूर्ण रूपले कैदी भएर लगिनेछन्। 20 आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्? 21 तैँले विशेष मित्रझैँ मानेकोलाई नै, याहवेहले तँमाथि शासक नियुक्त गरिदिनुहुँदा अब तँ के भन्‍नेछस्? के यसो हुँदा तँ प्रसुती वेदनामा परेकी स्त्रीझैँ पीडाले तड्पिने छैनस् र? 22 अनि यदि तैँले “मलाई किन यस्तो भयो?” भनेर आफैँलाई सोधिस् भने, यो त तेरै पापको कारणले गर्दा तेरो फरिया च्यातिएको छ; अनि तेरो शरीरसँग दुर्व्यवहार गरिएको छ। 23 के कूशी मानिसले आफ्नो छाला अथवा चितुवाले आफ्नो थोप्ला बदली गर्न सक्छ? तेरो दुष्‍ट काम गर्ने बानी भएको हुँदा तैँले असल काम गर्न सक्नेछैनस्। 24 “मरुभूमिको बतासले उडाइदिएको भुसजस्तै म तँलाई छरपस्ट पारिदिनेछु। 25 तेरो भाग यही हो, मैले आदेश दिएको तेरो हिस्सा,” याहवेहले घोषणा गर्नुहुन्छ; “किनकि तैँले मलाई बिर्सेर झूटा देवी-देवताहरूमाथि भरोसा गरेको छस्। 26 म तेरो फरिया उचालेर तेरो मुखमा पुर्‍याइदिनेछु, ताकि तेरो लाज देखियोस्— 27 तैँले गरेको व्यभिचार र तेरो कामुकताको हिनहिनाइ, र तेरो शर्मलाग्दो वेश्यावृत्ति! मैले अग्ला डाँडाहरूमा र मैदानहरूमा तेरा घिनलाग्दा वेश्यावृत्तिहरू देखेको छु। हे यरूशलेम, तँलाई धिक्‍कार छ! तँ कहिलेसम्म यसरी अशुद्ध भइरहनेछस्?"

Everything we make is available for free because of a generous community of supporters.

Donate