Menu

यर्मिया 29

NCB

1 नबूकदनेसरले यरूशलेमबाट कैद गरेर बेबिलोनमा लगेका मानिसहरूमध्ये बाँचेका प्रधानहरू, पुजारीहरू, अगमवक्ताहरू र अरू सबै मानिसहरूलाई यरूशलेमबाट यर्मियाले पठाएको पत्रको मूल सन्देश यही हो। 2 (योचाहिँ राजा यहोयाकीन र राजमाता, यहूदा र यरूशलेमका अदालतका अधिकारीहरू र अगुवाहरू, दक्ष कारिगरहरू र शिल्पकारहरू सबै यरूशलेमबाट निर्वासनमा गइसकेपछि पठाइएको पत्रको कुरा हो)। 3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहको छोरा गमर्याहलाई जिम्मा दिए, जुन पत्र यहूदाका राजा सिदकियाहले बेबिलोनमा राजा नबूकदनेसरकहाँ पठाएका थिए। त्यस पत्रमा यस्तो लेखिएको थियो: 4 मैले यरूशलेमबाट बेबिलोनमा निर्वासनमा लगेका सबै मानिसहरूलाई, सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: 5 “तिमीहरू घरहरू बनाओ र बसोबास गर; बगैँचाहरू लगाओ र त्यहाँका उब्जनीहरू खाओ। 6 विवाह गर र छोराछोरीहरू जन्माओ; तिमीहरूका छोराहरूका निम्ति पत्नीहरू खोजिदेओ र आफ्ना छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूका पनि छोराछोरीहरू होऊन्। तिमीहरू संख्यामा वृद्धि हुँदैजाओ, तर घटेर नजाओ। 7 मैले तिमीहरूलाई निर्वासनमा लगेको सहरको शान्ति र उन्‍नतिको निम्ति प्रार्थना गर। त्यस सहरको निम्ति याहवेहसित प्रार्थना गर; किनकि त्यस सहरको उन्‍नति भयो भने तिमीहरूको पनि उन्‍नति हुनेछ।" 8 हो, सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका बीचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूले देखेका सपनाहरूमा ध्यान नदेओ। 9 तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो अगमवाणी गरिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” याहवेह घोषणा गर्नुहुन्छ। 10 याहवेह यसो भन्‍नुहुन्छ: “जब बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा हुन्छ, तब म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी तिमीहरूसँग गरेको मेरो असल प्रतिज्ञा पूरा गर्नेछु।" 11 किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। “ती योजनाहरू तिमीहरूका उन्‍नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो। 12 तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्‍नेछु। 13 जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।" 14 “मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 15 तिमीहरूले भन्‍नेछौ, “याहवेहले हाम्रा निम्ति बेबिलोनमा अगमवक्ताहरू खडा गर्नुभएको छ," 16 तर दावीदको सिंहासनमा विराजमान हुनुहुने राजा र यस सहरमा बाँकी रहेका सबै मानिसहरूको विषयमा, अर्थात् तिमीहरूका देशवासीहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ— 17 हेर, सेनाहरूका याहवेह भन्‍नुहुन्छ: “म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र रूढी पठाउनेछु; अनि म तिनीहरूलाई खानै नसकिने गरी कुहिएको नेभारा जस्तै बनाउनेछु। 18 म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणाको पात्र बनाउनेछु। मैले तिनीहरूलाई धपाएका सबै राष्ट्रहरूको बीचमा श्राप, त्रास, हाँसो र निन्दाको पात्र बनाउनेछु।" 19 “किनकि तिनीहरूले मेरा वचन सुनेनन्, याहवेह घोषणा गर्नुहुन्छ, अर्थात् मैले बारम्बार मेरा सेवक अगमवक्ताहरूद्वारा तिनीहरूकहाँ पठाएका वचनहरू तिमी निर्वासनमा गएकाहरूले पनि सुनेका छैनौ,” याहवेह घोषणा गर्नुहुन्छ। 20 यसकारण मैले यरूशलेमबाट बेबिलोनको कैदमा पठाएका सबै मानिसहरू हो, याहवेहको वचन सुन। 21 मेरो नाममा झूटो अगमवाणी गर्ने कोलायाहको छोरा आहाब र मासेयाहको छोरा सिदकियाहको बारेमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले तिनीहरूलाई तिमीहरूका आँखाकै सामु मार्नेछ।" 22 तिनीहरूको कारण बेबिलोनमा भएका यहूदाका कैदीहरू सबैले यसरी श्राप प्रयोग गरेर भन्‍नेछन्: “याहवेहले तिमीहरूलाई सिदकियाह र आहाबलाई गरेजस्तै गरून्, जसलाई बेबिलोनका राजाले आगोमा जलाएका थिए।" 23 “किनकि तिनीहरूले इस्राएलमा अति घृणित पापहरू गरेका छन्; तिनीहरूले आफ्ना छिमेकीका पत्नीहरूसित व्यभिचार गरेका छन्; अनि मेरो नाममा तिनीहरूले झूटा अगमवाणीहरू गरेका छन्—जुन कुरा गर्नु भनी मैले तिनीहरूलाई आज्ञा गरेको थिइनँ। म यो कुरा जान्दछु र म नै यस कुराको गवाही हुँ,” याहवेह घोषणा गर्नुहुन्छ। 24 नहेलामवासी शमायाहलाई यसो भन्, 25 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तैँले यरूशलेमका सबै मानिसहरूलाई, मासेयाहको छोरा पुजारी सपन्याहलाई र अरू सबै पुजारीहरूलाई आफ्नै नाममा पत्रहरू पठाइस्। तैँले सपन्याहलाई भनिस्, 26 ‘याहवेहले तिमीलाई यहोयादाको ठाउँमा याहवेहको भवनको जिम्मेवार पुजारी नियुक्त गर्नुभएको छ। तिमीले त्यहाँ अगमवाणीको नक्‍कल गर्ने जुनसुकै बौलाहाजस्तो अगमवक्तालाई ठिँगुरोमा हाल्नू र त्यसको घिच्रोमा फलामको साङ्लाले बाँधेर राख्नू। 27 यसकारण अब तिमीहरूले किन अनातोतको यर्मियालाई हप्काएका छैनौ, जसले तिमीहरूबीच अगमवाणी गरेजस्तो नक्‍कल गर्छ? 28 त्यसले हामीलाई बेबिलोनमा यो समाचार पठाएको छ: यो कैदको समय लामो हुनेछ: यसकारण तिमीहरूले घरहरू बनाओ र बसोबास गर; बगैँचा लगाओ र त्यसका उब्जनीहरू खाओ।’ “ 29 पुजारी सपन्याहले त्यो पत्र पढेर यर्मिया अगमवक्तालाई सुनाए। 30 तब याहवेहको वचन यर्मियाकहाँ आयो: 31 “यो सन्देश निर्वासनमा भएका सबै मानिसहरूकहाँ पठा: ‘नहेलामवासी शमायाहको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: मैले शमायाहलाई नपठाए तापनि त्यसले तिमीहरूलाई अगमवाणी गरेर र तिमीहरूलाई झूटो कुरामा विश्‍वास गर्न लगायो, 32 यसकारण याहवेह यसो भन्‍नुहुन्छ, म नहेलामवासी शमायाह र त्यसका सन्तानलाई निश्‍चय नै दण्ड दिनेछु। यस जातिहरूको बीचमा त्यसको एक जना सन्तान पनि छोडिनेछैन, न त मैले आफ्नो जातिलाई गर्ने असल कुराहरू त्यसले देख्नेछ, याहवेह घोषणा गर्नुहुन्छ: किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गर्न सिकाएको छ।’ “

Everything we make is available for free because of a generous community of supporters.

Donate