Menu

यर्मिया 42

NCB

1 तब सेनाका सबै अधिकारीहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह, र साना दर्जादेखि लिएर ठूला दर्जासम्मका सबै मानिसहरू 2 अगमवक्ता यर्मियाकहाँ गएर तिनलाई भने, “कृपया, हाम्रो बिन्ती सुन्‍नुहोस् र हामी सबै बाँचेकाहरूका निम्ति याहवेह तपाईंका परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। किनकि तपाईं आफैँले अहिले देख्नुभएझैँ, हामी एक समयमा धेरै भए तापनि अहिले हामी सानो अवशेषको रूपमा छौँ। 3 याहवेह तपाईंका परमेश्‍वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।" 4 यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्‍चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्‍वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्‍नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।" 5 तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन्। 6 याहवेह हाम्रा परमेश्‍वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गर्नेछौँ।" 7 अनि दश दिनपछि याहवेहको वचन यर्मियाकहाँ आयो। 8 यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए। 9 यर्मियाले तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई आफ्ना बिन्ती चढाउन पठाएका थियौ: 10 ‘यदि तिमीहरू यस देशमै रह्‍यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु। 11 बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु। 12 म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’ 13 “तापनि यदि तिमीहरूले यसो भन्यो भने, ‘हामी यस देशमा बस्‍नेछैनौँ;’ अनि यसरी याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गरेनौ भने, 14 र यदि तिमीहरूले यसो भन्छौ भने, ‘होइन, हामी इजिप्टमा गएर बस्‍नेछौँ, जहाँ हामी युद्ध देख्नेछैनौँ, अथवा तुरहीको आवाज सुन्‍नेछैनौँ, अथवा रोटीको निम्ति भोको रहनेछैनौँ;’ 15 त्यसकारण हे यहूदाका बाँकिरहेका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘यदि तिमीहरूले इजिप्टमा जान पक्‍का गरेका छौ र त्यहाँ बसोबास गर्न जान चाहन्छौ भने, 16 तब तिमीहरू डराएका ती तरवारले तिमीहरूलाई त्यस देशमा खेदेर भेट्टाउनेछ; अनि तिमीहरू डराएको अनिकालले तिमीहरूलाई इजिप्टसम्म पछ्याउनेछ, तब तिमीहरू त्यहीँ नै मर्नेछौ। 17 निश्‍चय नै इजिप्टमा गएर बसोबास गर्न चाहने सबै जना तरवार, अनिकाल र रूढीले मर्नेछन्। मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट तिनीहरूमध्ये एक जना पनि बाँच्नेछैन।’ 18 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘जसरी मेरो रिस र क्रोध यरूशलेममा बस्‍नेहरूमाथि खन्याइएको छ, त्यसरी नै तिमीहरू इजिप्टमा जाँदा मेरो क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरू श्राप र त्रास, दोष र निन्दाका पात्रहरू बन्‍नेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै पनि देख्नेछैनौ।’ 19 “हे यहूदाका बाँकी रहेकाहरू हो, याहवेहले तिमीहरूलाई, ‘इजिप्टमा नजाओ,’ भन्‍नुभएको छ। तिमीहरूले यो कुरा स्पष्‍टसँग बुझिराख; आज म तिमीहरूलाई चेतावनी दिँदैछु; 20 किनकि तिमीहरूले मलाई याहवेह तिमीहरूका परमेश्‍वरकहाँ पठाएर ‘हाम्रा निम्ति याहवेह हाम्रा परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। उहाँले भन्‍नुभएको सबै कुरा हामीलाई बताइदिनुहोस्, र हामी त्यो पालन गर्नेछौँ,’ भनेर तिमीहरूले ठूलो भूल गरेका छौ। 21 उहाँले तिमीहरूलाई भन्‍नू भनेर मलाई पठाउनुभएका सबै कुराहरू आज मैले तिमीहरूलाई बताएको छु, तर तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञा अझै पनि पालन गरेका छैनौ। 22 यसकारण अब यो पक्‍का गरी जानिराख: जुन ठाउँमा तिमीहरू गएर बसोबास गर्न चाहन्छौ, त्यस ठाउँमा तिमीहरू तरवार, अनिकाल र रूढीले मर्नेछौ।"

Everything we make is available for free because of a generous community of supporters.

Donate