Menu

इयोब 40

NCB

1 याहवेहले इयोबलाई भन्‍नुभयो: 2 “के सर्वशक्तिमान्‌सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? परमेश्‍वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!" 3 तब इयोबले याहवेहलाई जवाफ दिए: 4 “म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु? म मेरो हातले आफ्नो मुख छोप्दछु। 5 म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ, दुई पटक म बोलेँ, तर अब म केही भन्‍नेछैनँ।" 6 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो: 7 “अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्। 8 “के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?" 9 के तेरो पाखुरा परमेश्‍वरको जस्तो छ? के तेरो सोर उहाँको जस्तै गर्जन सक्छ? 10 त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्! अनि आफूलाई आदर र सम्मानको वस्त्रले ढाक्। 11 तेरो रिसको आगो पोखिदे; घमण्डीहरूलाई हेर्, र तिनीहरूलाई विनम्र पारिदे, 12 हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्‍च्‍याइदे, दुष्‍टलाई तिनीहरू उभिएकै ठाउँमा कुल्चिदे। 13 तिनीहरूलाई एकसाथ धुलोमा गाडिदे; चिहानमा तिनीहरूका अनुहार कात्रोले छोपिदे। 14 तब तेरो आफ्नै दाहिने हातले तँलाई रक्षा गर्न सक्छ भनी म आफैँले तँसँग स्वीकार गर्नेछु। 15 “तँसँगै मैले बनाएको जलगैँडालाई हेर, जसले गोरुले जस्तै घाँस खान्छ। 16 त्यसको कम्मरमा कति बल छ, त्यसको पेटका मांसपेशीहरूमा कति शक्ति छ! 17 त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ; त्यसका तिघ्राका नशाहरू खूब कसिएर बुनिएका छन्। 18 त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्; त्यसका हातखुट्टाहरू फलामका छडी जस्तै छन्। 19 त्यो परमेश्‍वरका कामहरूमध्ये पहिलो दर्जामा आउँछ; तापनि त्यसलाई बनाउनुहुनेले आफ्नो तरवारले त्यसलाई भेट्न सक्नुहुन्छ। 20 डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्, र सबै जङ्गली जनावरहरू त्यसको छेउछाउतिरै खेल्छन्। 21 कमलको बोटमुनि त्यो ढल्कन्छ, सिमसारका निगालोहरूका आडमा लुक्छ। 22 कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्; खोलाको किनारका लहरे पीपलले त्यसलाई घेरेर राख्छन्। 23 वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन; यर्दन नदीको भेल त्यसको विरुद्ध मुखैमा उर्लेर आए तापनि त्यो सुरक्षित रहन्छ। 24 के त्यसको आँखा खुल्‍ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ? वा त्यसलाई पासोमा पारेर त्यसको नाक छेड्न सक्छ?

Everything we make is available for free because of a generous community of supporters.

Donate