योना 2
NCB1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्वरलाई प्रार्थना गरे। 2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्नुभयो। 3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए। 4 मैले भनेँ, ‘म तपाईंको दृष्टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’ 5 डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए। 6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो। 7 “जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो। 8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्वरको अचुक प्रेमबाट टाढा हुन्छन्। 9 तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ “ 10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।
