मीका 2
NCB1 तिनीहरूलाई धिक्कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्ट काम पूरा गर्ने सामर्थ्य छ। 2 तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्। 3 यसकारण याहवेह भन्नुहुन्छ: “म यी मानिसहरूका विरुद्धमा सर्वनाशको योजना बनाउँदैछु, जसबाट तिमीहरू बच्न सक्नेछैनौ। अब उसो तिमीहरू घमण्डी भएर हिँड्नेछैनौ; किनकि यो एउटा विपत्तिको समय हुनेछ। 4 त्यस दिन मानिसहरूले तिमीहरूको खिल्ली उडाउनेछन्; तिनीहरूले तिमीहरूलाई यो विलापको गीत गाएर गिल्ला गर्नेछन्: ‘हामी पूर्ण रूपले सर्वनाश भयौँ; मेरा मानिसहरूको पैतृक सम्पत्ति बाँडिएको छ। उहाँले यो सम्पत्ति मबाट खोस्नुहुन्छ! उहाँले हाम्रा खेतहरू देशद्रोहीहरूलाई दिनुहुन्छ।’ “ 5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन। 6 तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।" 7 हे याकोबको घराना, तिमीहरूले यसो भन्नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्? 8 तर अहिले मेरा आफ्नै मानिसहरू शत्रुझैँ खडा भएका छन्। तिमीहरू युद्धबाट फर्किरहेका मानिसहरूले जस्तै निर्धक्क भएर बाटो हिँडिरहेकाहरूबाट तिनीहरूका मूल्यवान् खास्टाहरू खोसेर लैजान्छौ। 9 तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ। 10 उठ, गइहाल! किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; यो अशुद्ध भएको कारण यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ। 11 यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ! 12 “हे याकोब, म निश्चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ। 13 जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।"
