Menu

मर्कूस 2

NCB

1 केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, तब मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुने। 2 त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गरिरहनुभएको थियो। 3 त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए। 4 तर भीडको कारणले गर्दा येशूसम्म पुर्‍याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले। 5 जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।" 6 यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए, र आ-आफैँमा विचार गर्दैथिए, 7 “यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्‍वरनिन्दा गरिरहेका छन्! परमेश्‍वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?" 8 तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्‍ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ? 9 यस पक्षघातीलाई के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्‍नु? 10 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, 11 “म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।" 12 त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!" 13 एकपल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। 14 त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे। 15 एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू, पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। 16 जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?" 17 यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।" 18 एकपल्ट यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्‍नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?" 19 येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्‍न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्। 20 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्। 21 “कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्‍यो भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, र त्यो फटाइ झन् नराम्रो हुन्छ। 22 त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन, नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्, दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्‍ट हुन्छ। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्दछ।" 23 एक शब्बाथको दिन येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरूले हिँड्दै गर्दा खानका निम्ति केही अन्‍नका बाला टिप्न थाले। 24 फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले शब्बाथ दिनमा उचित नहुने काम गरिरहेका छन्?" 25 उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका र खाँचोमा परेका बेला, के गरेका थिए? 26 प्रधान पुजारी अबीयाथारको समयमा, तिनी परमेश्‍वरको भवनभित्र पसे, र परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।" 27 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “शब्बाथ दिन मानिसहरूका लागि बनाइएको हो, तर शब्बाथको निम्ति मानिसहरू बनाइएका होइनन्। 28 यसकारण मानिसको पुत्र शब्बाथको पनि प्रभु हो।"

Everything we make is available for free because of a generous community of supporters.

Donate