Menu

फिलिप्पी 2

NCB

1 यसकारण यदि ख्रीष्‍टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्‍नेह र सहानुभूति छ भने, 2 एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। 3 स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्‍ठ ठान। 4 तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर। 5 तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्‍ट येशूको जस्तै मन होस्: 6 उहाँ स्वभावमा परमेश्‍वर भएर पनि परमेश्‍वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्‍नुभएन; 7 तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो। 8 अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। 9 त्यसैकारण परमेश्‍वरले उहाँलाई सर्वोच्‍च स्थानसम्म उच्‍च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्‍च छ, 10 यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ; 11 अनि परमेश्‍वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। 12 यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्‍वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। 13 किनकि तिमीहरूमा काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। 14 गनगन र वाद-विवाद नगरी सबै काम गर; 15 ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्खोट सन्तान बन्‍न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। 16 यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको पुनरागमनमा म गर्व गर्न सकूँ। 17 तर यदि तिमीहरूको विश्‍वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। 18 त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ। 19 म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्‍न हुन सकूँ। 20 मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। 21 किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्‍टको इच्छा खोज्दैनन्। 22 तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। 23 यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्‍ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। 24 अनि म प्रभुमा निश्‍चित छु, कि म आफैँ पनि चाँडै आउनेछु। 25 तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। 26 किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। 27 वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्‍वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्। 28 यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। 29 यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर; 30 किनकि तिनी ख्रीष्‍टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।

Everything we make is available for free because of a generous community of supporters.

Donate