हितोपदेश 21
NCB1 राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ। 2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ। 3 ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ। 4 अहङ्कारी आँखा र अभिमानी हृदय तथा दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ। 5 परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्याउँछ। 6 झूटो जिब्रोद्वारा कमाएको धन उडिजाने वाफ र घातक पासो हो। 7 दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्। 8 दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ। 9 कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्नु असल हो। 10 दुष्ट मानिसले दुष्टताको चाहना गर्छ; त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन। 11 गिल्ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्त गर्छ; बुद्धिमान्लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्त गर्छ। 12 धर्मी जनले दुष्टको घरलाई चिनिराख्छ; तर परमेश्वरले दुष्टहरूलाई पतन गराउनुहुन्छ। 13 जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन। 14 गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ। 15 उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; तर कुकर्मीहरू भने त्रसित हुन्छन्। 16 समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस मृतकहरूको साथमा विश्राम गर्न पुग्छ। 17 सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन। 18 दुष्टहरू धर्मीहरूको उद्धारको मोल, र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्। 19 झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त बरु मरुभूमिमा बस्नु असल हुन्छ। 20 बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ। 21 धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्नति र सम्मान पाउँछ। 22 बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्ला भत्काइदिन्छ। 23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ। 24 अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ। 25 अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्। 26 दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ। 27 दुष्टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ! 28 झूटो गवाही दिने नष्ट हुनेछ; तर साँचो साक्षीलाई सधैँ सुनिनेछ। 29 दुष्ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्याउँछन्। 30 कुनै पनि बुद्धि, अन्तर्दृष्टि र योजना, याहवेहको विरुद्ध सफल हुन सक्दैन। 31 घोडा युद्धको निम्ति तयार राखिन्छ; तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।
