Menu

हितोपदेश 26

NCB

1 ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, मूर्खलाई सम्मान सुहाउँदैन। 2 भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, कारणविनाको श्राप पनि लाग्दैन। 3 घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ! 4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ। 5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्‍टिमा बुद्धिमान् हुनेछ। 6 मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो। 7 मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो। 8 मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो। 9 मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो। 10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो। 11 कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ। 12 के तिमी कुनै मानिसलाई आफ्नै दृष्‍टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ। 13 अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।" 14 ढोका कब्जामा यताउता फर्केजस्तै, अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ। 15 अल्छेले आफ्नो हात थालमा राख्छ, तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ। 16 सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा, एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ। 17 बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो। 18 आफ्नो छिमेकीलाई छल गरिसकेपछि, “मैले त ठट्टा मात्र गरेको हो!” भन्‍ने व्यक्ति अगुल्टो वा घातक काँड हान्‍ने बौलाहाजस्तो हो। 20 दाउराविना आगो निभ्छ; कुरौटेविना झगडा शान्त हुन्छ। 21 भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ। 22 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्। 23 माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्। 24 शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ। 25 त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्‍वास नगर; किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ। 26 त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ, तर त्यसको दुष्‍टता सभामा प्रकट गरिनेछ। 27 कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ। 28 झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate