Menu

हितोपदेश 4

NCB

1 हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्‍त गर। 2 म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग! 3 किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ। 4 मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ। 5 बुद्धि प्राप्‍त गर, समझशक्ति प्राप्‍त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ। 6 बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ। 7 बुद्धि सर्वोच्‍च हो, यसकारण बुद्धि प्राप्‍त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्‍त गर। 8 बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्‍च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ। 9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्‍याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।" 10 हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ। 11 म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, र तिमीलाई सीधा बाटोमा डोर्‍याउँछु। 12 तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन। 13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो। 14 दुष्‍टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड। 15 त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग। 16 किनकि दुष्‍टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन। 17 तिनीहरूले दुष्‍टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्। 18 धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ। 19 तर दुष्‍टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्। 20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन। 21 ती तिम्रो दृष्‍टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख, 22 किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो। 23 यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो। 24 तिम्रो मुखबाट भ्रष्‍टता टाढै रहोस्, भ्रष्‍ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्। 25 तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्। 26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ! 27 दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्‍ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!

Everything we make is available for free because of a generous community of supporters.

Donate