भजनसंग्रह 101
NCB1 म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु; हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु। 2 म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाईं मकहाँ कहिले आउनुहुनेछ? म निर्दोष हृदय लिएर आफ्नो घरको कामकाज गर्नेछु। 3 म आफ्नो आँखाहरू अगि कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ। पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु; यसमा मेरो कुनै सरोकार हुनेछैन। 4 कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्; दुष्टसँग मेरो कुनै सरोकार रहनेछैन। 5 जसले गुप्तमा आफ्ना छिमेकीको निन्दा गर्दछ, म त्यसलाई नाश गर्नेछु; अहङ्कारी दृष्टि भएका र घमण्डी हृदय भएकालाई, म सहनेछैनँ। 6 देशका विश्वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु; ताकि तिनीहरू मसित बास गरून्; त्यो, जसको चालचलन निर्दोष छ, उसले नै मेरो सेवा गर्नेछ। 7 छली काम गर्ने कसैले पनि मेरो घरमा बास पाउनेछैन; झूटो बोल्ने कोही पनि मेरो उपस्थितिमा खडा हुनेछैन। 8 हरेक बिहान म देशका दुष्ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु; याहवेहको सहरबाट म हरेक दुष्कर्मीलाई नष्ट पार्नेछु।
