Menu

भजनसंग्रह 115

NCB

1 हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्! 2 राष्ट्रहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्‍वर कहाँ छन्?" 3 हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। 4 तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्। 5 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्; 6 तिनीहरूका कान त छन्, तर सुन्‍न सक्दैनन्; नाक त छन्, तर सुँघ्न सक्दैनन्; 7 हात त छन्, तर स्पर्श गर्न सक्दैनन्; खुट्टा त छन्, तर हिँड्न सक्दैनन्; न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्। 8 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्। 9 हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। 10 हे हारूनका घराना हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। 11 याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। 12 याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ; उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ। 13 उहाँको डर मान्‍ने साना र ठूला सबैलाई याहवेहले आशिष् दिनुहुनेछ। 14 याहवेहले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानहरूलाई। 15 याहवेहले तिमीहरूलाई आशिष् देऊन्, जो आकाश र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। 16 सर्वोच्‍च स्वर्ग याहवेहकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। 17 मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्; चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्; 18 तर हामी त अहिले र सदासर्वदा नै याहवेहको स्तुति गर्दछौँ। याहवेहको प्रशंसा गर!

Everything we make is available for free because of a generous community of supporters.

Donate