भजनसंग्रह 12
NCB1 हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्। 2 हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्। 3 सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्— 4 तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?" 5 याहवेह भन्नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।" 6 याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्। 7 हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ, 8 जब मानिसहरूका बीचमा दुष्टताको सम्मान हुन्छ; दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्।
