Menu

भजनसंग्रह 135

NCB

1 याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर; हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर। 2 तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्‍वरको भवनका चोकहरूमा सेवा गर्दछौ। 3 याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ। 4 किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्‍नुभएको छ। 5 म जान्दछु, याहवेह महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ। 6 आकाशमा र पृथ्वीमा, समुद्रहरू अनि तिनका गहिराइमा, याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ। 7 उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। 8 उहाँले इजिप्टका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो। 9 हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू, फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो। 10 उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो; र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो— 11 एमोरीहरूका राजा सीहोन, बाशानका राजा ओग, र कनानका सबै राजाहरूलाई नष्‍ट गर्नुभयो— 12 अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा, आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो। 13 हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ; हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। 14 किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ, र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ। 15 जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती सबै मानिसहरूका हस्तकला मात्र हुन्। 16 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्। 17 तिनीहरूका कान छन्, तर सुन्‍न सक्दैनन्; न तिनीहरूको मुखमा सास नै छ। 18 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्। 19 हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर; हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर; 20 हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर; हे उहाँको डर मान्‍नेहरू हो, याहवेहलाई प्रशंसा गर। 21 सियोनबाट याहवेहलाई प्रशंसा होस्! यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्! याहवेहको प्रशंसा गर!

Everything we make is available for free because of a generous community of supporters.

Donate