भजनसंग्रह 142
NCB1 उच्च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु। 2 उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु। 3 मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्। 4 मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन। 5 हे याहवेह, म तपाईंलाई पुकार गर्छु; म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ, अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।" 6 मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्। 7 मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।
