भजनसंग्रह 149
NCB1 याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ, उहाँको प्रशंसा उहाँका विश्वासयोग्य जनहरूका सभामा छ। 2 इस्राएल आफ्ना सृष्टिकर्तामा आनन्दित होओस्; सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्! 3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्; र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्! 4 किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ; उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्याइदिनुहुन्छ। 5 उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्! 6 तिनीहरूका मुखमा परमेश्वरको प्रशंसा होस्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्, 7 ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति, र जाति-जातिहरूलाई दण्ड दिन; 8 तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न; 9 तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्— यही नै उहाँका सबै विश्वासयोग्य जनहरूको महिमा हो। याहवेहको प्रशंसा गर!
