भजनसंग्रह 32
NCB1 धन्य हो त्यो मानिस, जसका अपराधहरू क्षमा भएका छन्; जसका पापहरू ढाकिएका छन्। 2 त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्न, जसको मनमा कुनै छलकपट छैन। 3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्किए। 4 किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला 5 तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ, र मेरो अधर्म लुकाइ राखिनँ। मैले भनेँ, “म याहवेहको सामु मेरो अपराधहरू स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला 6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ, सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्; निश्चय नै उर्लेको डरलाग्दो भेलले तिनीहरूलाई छुनेछैन। 7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ; तपाईंले मलाई सङ्कष्टबाट रक्षा गर्नुहुन्छ; तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला 8 म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु; म तँलाई सल्लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु। 9 घोडा वा खच्चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन, जसलाई रोक्न लगाम र डोकरी चाहिन्छ, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्। 10 दुष्टहरूले धेरै कष्ट भोग्छन्, तर याहवेहमा भरोसा राख्नेहरूलाई उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ। 11 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ; सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!
