भजनसंग्रह 38
NCB1 हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्। 2 किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ। 3 तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्। 4 मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्। 5 मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्। 6 म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु। 7 मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन। 8 म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु। 9 हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन। 10 मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। 11 मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्। 12 मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्। 13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु; 14 सुन्न नसक्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन। 15 हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ। 16 किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।" 17 किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ। 18 मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु। 19 कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्। 20 मेरो भलाइको साटो खराबी गर्दछन्, मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि मेरो विरुद्धमा दोष लगाउँछन्। 21 हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस्! 22 हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्!
