भजनसंग्रह 56
NCB1 हे परमेश्वर, ममाथि दया देखाउनुहोस्; किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्; तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्। 2 मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्; आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्। 3 जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु। 4 परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु— म उहाँमा भरोसा राख्छु र डराउँदिनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र? 5 तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्; तिनीहरूका सबै योजनाहरू मेरो हानिको लागि हुन्छन्। 6 मलाई मार्ने आशामा तिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्; तिनीहरूले मेरा कदमहरू नियाल्छन्। 7 तिनीहरूका दुष्टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्; हे परमेश्वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्! 8 तपाईंले मेरो विलापको लेखा राख्नुहोस्; मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्— तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र? 9 जब म सहायताको निम्ति पुकार्छु, तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्। यस कुराबाट परमेश्वर मेरो पक्षमा हुनुहुन्छ भन्ने कुरा म जान्दछु। 10 परमेश्वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु, याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु— 11 परमेश्वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ। मलाई मरणशील मानिसले के गर्न सक्छ र? 12 हे मेरा परमेश्वर, मैले तपाईंसँग भाकलहरू गरेको छु; मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु; 13 किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ; र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ, ताकि म परमेश्वरको सामु जीवनको ज्योतिमा हिँड्न सकूँ।
