भजनसंग्रह 59
NCB1 हे परमेश्वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्। 2 दुष्ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्। 3 हेर्नुहोस्, मेरो प्राण लिनलाई तिनीहरू कसरी ढुकेर बसेका छन्! हे याहवेह, मेरो दोष वा पाप नभए तापनि कारणविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र रच्दछन्। 4 मेरो कुनै दोषविना नै तिनीहरू मलाई आक्रमण गर्न तयार छन्। मलाई सहायता गर्न उठ्नुहोस्; मेरो दुर्गतिमा दृष्टि गर्नुहोस्। 5 हे याहवेह, सेनाहरूका परमेश्वर, हे इस्राएलका परमेश्वर, सबै राष्ट्रहरूलाई दण्ड दिन तपाईं जाग्नुहोस्; विश्वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला 6 तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै, सहरको चारैतिर आउँछन्। 7 हेर्नुहोस्, तिनीहरूको मुखबाट के निकाल्छन्— तिनीहरूका ओठबाट निक्लेका शब्दहरू तरवारजस्तै धारिला छन्; अनि तिनीहरू सोच्दछन्, “हामीलाई कसले सुन्न सक्छ र?" 8 तर हे याहवेह, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ; तपाईं सबै राष्ट्रहरूको उपहास गर्नुहुन्छ। 9 तपाईं मेरो शक्ति हुनुहुन्छ, म तपाईंको प्रतीक्षा गर्दछु; हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ। 10 मेरो परमेश्वरको अचुक प्रेममा, उहाँ मसँग खडा हुनुहुनेछ, र परमेश्वर मेरो अगाडि जानुहुनेछ। उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय देख्न दिनुहुनेछ। 11 तर हे प्रभु, हाम्रा ढाल, तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा मानिसहरूले भुल्नेछन्। तपाईंको शक्तिले तिनीहरूलाई उखेल्नुहोस् र तिनीहरूलाई होच्याउनुहोस्। 12 तिनीहरूका मुखको पापको फल, तिनीहरूका ओठका शब्दहरूका कारण, तिनीहरू आफ्नै घमण्डमा फसून्। तिनीहरूले बोलेका श्राप र झूटका कारण, 13 तपाईंको क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्, तिनीहरू पूरै नष्ट नहोउन्जेल भस्म गर्नुहोस्। तब पृथ्वीको छेउसम्मै मानिसहरूले जान्नेछन्, कि परमेश्वरले इस्राएलमाथि र संसारभरि राज्य गर्नुहुन्छ। 14 तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै सहरको चारैतिर आउँछन्। 15 तिनीहरू आहाराको खोजीमा भौँतारिन्छन्, अनि तिनीहरू आहाराले सन्तुष्ट नहुँदा कराउँछन्। 16 तर म तपाईंको शक्तिको गुणगान गाउनेछु, बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु; किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ, सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ। 17 तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु; हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ, मेरो प्रेमिला परमेश्वरमा म भरोसा गर्न सक्छु।
