भजनसंग्रह 63
NCB1 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ; म दिलोज्यानले तपाईंलाई खोज्दछु; पानी नभएको सुक्खा र बाँझो जमिनमा, मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ। 2 पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु, र तपाईंको शक्ति र महिमालाई देखेको छु। 3 तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ; यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ। 4 मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म मेरो हात उचाल्नेछु। 5 मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्ट हुनेछ; स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ। 6 मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु; रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु। 7 किनकि तपाईं मेरो सहायक हुनुहुन्छ; म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु। 8 मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ; तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ। 9 मलाई मार्न खोज्नेहरूचाहिँ नष्ट पारिनेछन्; तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्। 10 तिनीहरू तरवारद्वारा मारिनेछन्; र स्यालहरूको आहारा हुनेछन्। 11 तर राजा परमेश्वरमा आनन्दित हुनेछन्; परमेश्वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्; जबकि झूटो बोल्ने मुख थुनिनेछ।
