भजनसंग्रह 7
NCB1 हे याहवेह, मेरो परमेश्वर, म तपाईंमा नै शरण पर्दछु; मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्, 2 नत्रता तिनीहरूले मलाई सिंहले झैँ फहराउनेछन्; मेरो उद्धार गर्ने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्। 3 हे याहवेह, मेरा परमेश्वर, यदि मैले यो गरेको छु र यदि मेरा हातबाट केही अधर्म भएको छ भने; 4 यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने; वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने; 5 यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्; तिनीहरूले मेरो प्राणलाई धुलोमा कुल्चिऊन्, र मेरो इज्जत धुलोमा पारून्। सेला 6 हे याहवेह, तपाईंको क्रोधमा उठ्नुहोस्; मेरा शत्रुहरूको क्रोधको विरुद्धमा खडा हुनुहोस्, हे मेरा परमेश्वर, उठ्नुहोस् र आफ्नो न्याय आदेश गर्नुहोस्। 7 जाति-जातिहरू तपाईंको वरिपरि भेला होऊन्; उच्च सिंहासनमा विराजमान भई तिनीहरूमाथि शासन गर्नुहोस्; 8 याहवेहले जाति-जातिहरूको न्याय गरून्। हे याहवेह, सर्वोच्च परमेश्वर मेरो धार्मिकताअनुसार, र मेरो इमानदारीताअनुसार निर्दोष प्रमाणित गर्नुहोस्। 9 हे धार्मिक परमेश्वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्। 10 सर्वोच्च परमेश्वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ। 11 परमेश्वर धार्मिक न्यायकर्ता हुनुहुन्छ, यस्तो परमेश्वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ। 12 यदि मानिसले पश्चात्ताप गरेन भने, उहाँले आफ्नो तरवारमा शान लगाउनुहुनेछ; उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ र निसाना लगाउनुहुनेछ। 13 उहाँले आफ्ना प्राणघातक हातहतियार तयार पार्नुभएको छ; उहाँले आफ्ना अग्निकाँडहरू तयार पार्नुभएको छ। 14 जसले अधर्मको गर्भधारण गर्दछ, त्यसले सङ्कष्ट बोक्दछ र छललाई जन्म दिन्छ। 15 जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ, त्यसले खनेको खाडलमा आफैँ जाकिन्छन्। 16 त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ; र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ। 17 उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु र सर्वोच्च याहवेहको नामको स्तुति गाउनेछु।
