Menu

भजनसंग्रह 71

NCB

1 हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्! 2 तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्; तपाईंको कान मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्! 3 तपाईं मेरो आश्रयको चट्टान बन्‍नुहोस्, जहाँ म सधैँ जान सकूँ; मलाई बचाउने आज्ञा दिनुहोस्; किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ। 4 हे मेरा परमेश्‍वर, मलाई दुष्‍टहरूका हातबाट, अन्यायी र निर्दयी मानिसहरूका पञ्जाबाट छुटाउनुहोस्! 5 किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ; युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ। 6 मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु; मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो। म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु। 7 म धेरै जनाको निम्ति चिन्ह भएको छु; तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ। 8 मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ; दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु। 9 मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्; मलाई मेरो बल घटेको अवस्थामा नत्याग्नुहोस्! 10 किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्; अनि मलाई मार्न खोज्नेहरू एकसाथ मिलेर षड्यन्त्र गर्छन्। 11 तिनीहरूले भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्नुभएको छ; त्यसलाई खेदेर पक्रौँ; किनकि त्यसलाई बचाउने कोही छैन।" 12 हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्; हे परमेश्‍वर, मलाई सहायता गर्न चाँडो आउनुहोस्! 13 मलाई दोष लाउनेहरू शर्ममा परेर नाश भइजाऊन्; मलाई हानि पुर्‍याउन चाहनेहरू लाजमा र अपमानमा परून्। 14 तर मचाहिँ तपाईंमा सधैँ आशा गरिरहनेछु; म तपाईंको अझ धेरै प्रशंसा गर्नेछु। 15 मेरो मुखले तपाईंका धार्मिक कामहरू र तपाईंका उद्धारको कामहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्‍नेछु, यद्यपि मलाई तिनको बारेमा सबै कुरा कसरी भन्‍ने भनेर थाहा छैन। 16 हे सार्वभौम याहवेह, म तपाईंका महान् कार्यहरूको घोषणा गर्दै आउनेछु, म तपाईंको धार्मिक कार्यहरूको विषयमा घोषणा गर्नेछु, केवल तपाईंको धार्मिकताको म बयान गर्नेछु। 17 हे परमेश्‍वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ; र आजको दिनसम्मै म तपाईंका अचम्मका कामहरूको घोषणा गर्दछु। 18 हे परमेश्‍वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ; तबसम्म मलाई नत्याग्नुहोस्, जबसम्म अर्को पुस्तालाई र पछि आउने सबै मानिसहरूलाई तपाईंले गर्नुभएका महान् कामहरू र अचम्मका कुराहरू घोषणा गरी सक्दिनँ। 19 हे परमेश्‍वर, तपाईंका धार्मिकता आकाशसम्मै चुलिएको छ; तपाईंले महान् कामहरू गर्नुभएको छ। हे परमेश्‍वर, तपाईंजस्तो अरू को छ र? 20 यद्यपि तपाईंले मलाई धेरै र तिता कष्‍टहरू अनुभव गर्न दिनुभयो; तपाईंले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ, र पृथ्वीको गहिराइहरूबाट तपाईंले मलाई फेरि माथि ल्याउनुहुनेछ। 21 तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ, र मलाई फेरि सान्त्वना दिनुहुनेछ। 22 हे मेरा परमेश्‍वर, तपाईं विश्‍वासयोग्य हुनुभएको कारण म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु; हे इस्राएलका पवित्र परमेश्‍वर, म सारङ्गी बजाएर तपाईंको प्रशंसा गर्नेछु, 23 मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्, म तपाईंको प्रशंसा गाउँछु; किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ। 24 मेरो जिब्रोले तपाईंका धार्मिक कार्यहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्‍नेछु; किनकि मेरो हानि गर्न चाहनेहरू शर्ममा र अन्योलमा परेका छन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate