Menu

भजनसंग्रह 74

NCB

1 हे परमेश्‍वर, किन तपाईंले हामीलाई सधैँका लागि त्याग्नुभएको छ? तपाईंको क्रोध तपाईंका खर्कका भेडाहरूका विरुद्धमा किन दन्कन्छ? 2 आफ्ना राष्ट्रलाई सम्झना गर्नुहोस्, जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभएको थियो; जसलाई तपाईंका उत्तराधिकारका प्रजा हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं बास गर्नुहुन्छ। 3 आफ्ना कदमहरू यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्; पवित्रस्थानमा भएका सबै थोक शत्रुहरूले नष्‍ट पारेका छन्। 4 तपाईंले हामीसँग भेट गर्नुभएको ठाउँमा तपाईंका वैरीहरू गर्जेका छन्; तिनीहरूले आफ्ना झण्डाहरू विजयको चिन्हको रूपमा गाडेका छन्। 5 झाडीका रूखहरू बन्चरोले काट्दै नष्‍ट पार्ने मानिसजस्तै तिनीहरू थिए। 6 तिनीहरूले ठूलो बन्चरो र घनले बुट्टादार काठहरूलाई चकनाचुर पारे। 7 तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए; तपाईंका नामको वासस्थान तिनीहरूले अपवित्र पारे। 8 तिनीहरूले आफ्ना मनमा भने, “हामी तिनीहरूलाई पूर्ण रूपले नाश पारौँ!” तिनीहरूले देशमा भएका परमेश्‍वरका आराधना गरिने हरेक पवित्रस्थान जलाए। 9 परमेश्‍वरबाट हामीले कुनै अलौकिक चिन्हहरू पाएका छैनौँ; अब कोही अगमवक्ता बाँकी रहेनन्, यस्तो हालत कहिलेसम्म रहने हो, सो हामी कसैले जान्दैनौँ। 10 हे परमेश्‍वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्? के वैरीहरूले तपाईंको नामको निन्दा सदासर्वदा गर्नेछन् त? 11 किन तपाईं आफ्नो बाहुली, तपाईंको दाहिने हात रोक्नुहुन्छ? हस्तक्षेप गर्नुहोस् र तिनीहरूलाई नष्‍ट पार्नुहोस्। 12 तर परमेश्‍वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ। 13 तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो; तपाईंले समुद्रको विशाल जन्तुहरूका टाउकाहरू कुच्याउनुभयो। 14 तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो; र त्यसलाई मरुभूमिका पशुहरूलाई आहाराको निम्ति दिनुभयो। 15 तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो; तपाईंले अटुट बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। 16 दिन तपाईंको हो, र रात पनि तपाईंकै हो; तपाईंले नै सूर्य र चन्द्र स्थापित गर्नुभएको हो। 17 तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो; तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु दुवैलाई बनाउनुभयो। 18 हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्; र मूर्खहरूले कसरी तपाईंका नामको गिल्‍ला गर्थे। 19 आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्; आफ्ना पीडित मानिसहरूका प्राणलाई सदाकाल नभुल्नुहोस्। 20 तपाईंका करार सम्झनुहोस्; किनकि देशका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्। 21 थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्; पीडित र अभावमा हुनेहरूले तपाईंको नामको प्रशंसा गरून्। 22 हे परमेश्‍वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्। 23 तपाईंका विरोधीहरूको रिसको होहल्‍ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।

Everything we make is available for free because of a generous community of supporters.

Donate