भजनसंग्रह 76
NCB1 यहूदामा परमेश्वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ। 2 उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ। 3 त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो, ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला 4 तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ, र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ। 5 साहसी मानिसहरू लुटिएका छन्; तिनीहरू गहिरो निद्रामा परेका छन्; एउटै पनि शूरवीरले आफ्नो हात उचाल्न सक्दैन। 6 हे याकोबका परमेश्वर, तपाईंको हप्काइमा घोडा र रथ दुवै चीर निद्रामा परेका छन्। 7 तपाईं मात्र भययोग्य हुनुहुन्छ; तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र? 8 स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो; र पृथ्वी डरायो र चुपचाप भयो— 9 हे परमेश्वर, जब तपाईं पृथ्वीमा पीडितहरू सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला 10 निश्चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ; र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्। 11 तिमीहरूका परमेश्वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर; उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू सबैले भेटी ल्याऊन्। 12 उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ; पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।
