Menu

भजनसंग्रह 88

NCB

1 हे याहवेह, तपाईं नै त्यो परमेश्‍वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ; दिनरात म तपाईंलाई पुकार्दछु। 2 मेरो प्रार्थना तपाईंको सामु पुगोस्; मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्! 3 किनकि मेरो प्राण पीडाले भरिएको छ र मेरो जीवन चिहानको नजिकै पुगेको छ। 4 चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ; म शक्तिविहीन मानिसझैँ भएको छु। 5 म मरेकाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्, जसलाई तपाईं कहिल्यै सम्झनुहुन्‍न; जो तपाईंको वास्ताबाट त्यागिएका छन्। 6 तपाईंले मलाई चिहानको तल्‍लो भागमा, अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ। 7 तपाईंको क्रोधले मलाई दबाएर राखेको छ; तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला 8 मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ; तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ। म पासोमा परेको छु, र म उम्कन सक्दिनँ; 9 शोकले मेरा आँखाहरू धमिला हुन्छन्। हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु; म मेरा हात तपाईंतिर पसार्दछु। 10 के मृतकहरूलाई तपाईं आफ्ना अद्‌भुत कार्यहरू देखाउनुहुन्छ? के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला 11 के तपाईंको अचुक प्रेम चिहानमा, तपाईंको विश्‍वसताको मृत-लोकमा घोषणा गरिन्छ? 12 के तपाईंको अद्‌भुत कार्यहरू अन्धकारको स्थानमा, अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र? 13 हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु; बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ। 14 हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ? अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ? 15 मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु; तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु। 16 तपाईंको क्रोध ममाथि खनिएको छ; तपाईंका त्रासहरूले मलाई नष्‍ट पारेका छन्। 17 तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्; तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्। 18 तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ— अन्धकार मेरो नजिकको मित्र बनेको छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate