भजनसंग्रह 92
NCB1 याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो। 2 बिहान तपाईंको अचुक प्रेमको र राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु, 3 दशतारे वीणाको सङ्गीतमा र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो। 4 किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु। 5 हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्! तपाईंका विचारहरू कत्ति गहन छन्! 6 विवेकहीन मानिसले यो जान्दैन, मूर्खले यो बुझ्न सक्दैन, 7 यद्यपि दुष्टहरू घाँसजस्तै मौलाउँछन्, र सबै कुकर्मीहरूको फलिफाप पनि हुन्छ, तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्ट पारिनेछन्। 8 तर तपाईं, हे याहवेह, सदासर्वदा उच्च हुनुहुन्छ। 9 किनकि, हे याहवेह, तपाईंका शत्रुहरू, तपाईंका शत्रुहरू निश्चय नै नष्ट हुनेछन्; सबै कुकर्मीहरू तितरबितर हुनेछन्। 10 तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ उच्च पार्नुभएको छ; उत्तम तेलले मेरो अभिषेक भएको छ। 11 मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्; मेरा कानले मेरा दुष्ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्। 12 धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्; तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्; 13 तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्। 14 बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्; तिनीहरू ताजा र हरिया भइरहनेछन्, 15 र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ; उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्टता छैन।"
