भजनसंग्रह 99
NCB1 याहवेहले राज्य गर्नुहुन्छ; राष्ट्रहरू थरथर कामून्; उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ; पृथ्वी हल्लियोस्! 2 सियोनमा याहवेह महान् हुनुहुन्छ; उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ। 3 तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ। 4 राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ; तपाईंले याकोबमा न्याय र धार्मिकता सम्पन्न गर्नुभएको छ। 5 याहवेह हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पाउदानमा आराधना गर; उहाँ पवित्र हुनुहुन्छ। 6 उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए, र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए; तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। 7 उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो; उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे। 8 हे याहवेह, हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो; तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो। 9 याहवेह, हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पवित्र पर्वतमा आराधना गर; किनकि याहवेह हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
