Menu

रूथ 2

NCB

1 अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो। 2 मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्‍टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।" 3 यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए। 4 त्यसै बेला बोअज बेथलेहेमबाट आइपुगे। अनि कटनी गर्नेहरूलाई अभिवादन गरे, “याहवेह तिमीहरूसित होऊन्!” तिनीहरूले जवाफ दिए, “याहवेहले तपाईंलाई आशिष् देऊन्!" 5 कटनी गर्नेहरूका नाइकेलाई बोअजले सोधे, “त्यो जवान स्त्री को हो?" 6 त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो। 7 उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।" 8 यसकारण बोअजले रूथलाई भने, “मेरी छोरी, मेरा कुरा सुन। तिमी यहाँबाट अरू कुनै पनि खेतमा शिला-बाला बटुल्न नजाऊ, र यहाँबाट कहीँ टाढा नजाऊ। मेरो खेतमा काम गर्ने केटीहरूसँग यहीँ बस। 9 मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।" 10 तब तिनले आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरिन् र तिनले भनिन्, “म एउटी परदेशी भनी जानेर पनि किन तपाईंले मलाई यस्तो कृपादृष्‍टि गर्नुभयो?" 11 बोअजले जवाफ दिए, “तिम्रा पतिको मृत्यु भएपछि तिमीले आफ्नी सासूका निम्ति जे गरेकी छौ, सो सबै कुरा मलाई बताइएको छ। कसरी तिमीले आफ्ना आमाबुबा र आफ्नो जन्मभूमि छोडेर आफूले पहिले कहिल्यै नचिनेका मानिसहरूसँग बस्‍नलाई आएकी छौ। 12 तिमीले जे गरेकी छौ, याहवेहले तिमीलाई त्यसको प्रतिफल देऊन्। इस्राएलका परमेश्‍वर, जसको पखेटामुनि तिमी आश्रय लिन आएकी छौ, उही याहवेहले तिमीलाई प्रशस्त इनाम देऊन्।" 13 तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्‍टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।" 14 खाना खाने समयमा बोअजले तिनलाई भने, “तिमी यहाँ आऊ, र सिर्कामा केही रोटी चोपेर खाऊ।” जब तिनी कटनी गर्नेहरूसँग बसिन्, तब उनले तिनलाई केही भुटेका अन्‍न दिए। तिनले चाहेजति खाइन्, र तिनीसित केही उब्रियो पनि। 15 जब तिनी शिला बटुल्नलाई उठिन्, तब बोअजले आफ्ना मानिसहरूलाई हुकुम दिए, “यदि उसले बिटाहरूका बीचमा पसेर शिला-बाला बटुली भने पनि उसलाई नरोक। 16 बरु तिमीहरूले बाँधेका बिटाहरूबाट केही निकालेर उसलाई बटुल्नका लागि छोडिदेओ, तर उसलाई नहप्काओ।" 17 यसैले रूथले बेलुकीसम्म शिला-बाला बटुलिन्। तिनले बटुलेका जौका बाला माँड्दा प्राय: एक एपा भयो। 18 त्यसपछि तिनले त्यो बोकेर सहर फर्किन्; अनि तिनले कति धेरै बटुलेको तिनकी सासूले देखिन्। आफूले प्रशस्त खाएर उब्रेको अन्‍न पनि निकालेर रूथले तिनलाई दिइन्। 19 तिनकी सासूले सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? अनि कहाँ काम गर्‍यौ? ती मानिस धन्यका हुन्, जसले तिमीलाई वास्ता गरे!” यसकारण आफूले जसको खेतमा काम गरेकी थिइन्, तिनको विषयमा रूथले आफ्नी सासूलाई बताइन्, र भनिन्, “मैले आज काम गरेको मानिसको नाम बोअज हो।" 20 नाओमीले आफ्नी बुहारीलाई भनिन्, “याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।” तिनले भनिन्, “ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्। “ 21 तब मोआबी रूथले भनिन्, “उनले मलाई यसो पनि भने, ‘कटनीको काम सबै पूरा नहुँदासम्म मेरा कामदारहरूसँग बस।’ “ 22 नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “यो तिम्रो लागि असलै हुनेछ। मेरी छोरी, उनका काम गर्ने केटीहरूसँग जानु असल हुन्छ; किनकि अरूको खेतमा जाँदा तिमीमाथि हानि आइपर्न सक्छ।" 23 यसकारण गहुँ र जौको कटनी नसकुन्जेल रूथ बोअजका काम गर्ने केटीहरू सँगसँगै काम गरिन्, र तिनी आफ्नी सासूसँग नै बस्थिन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate