श्रेष्ठगीत 5
NCB1 हे मेरी प्रिय, मेरी दुलही, म मेरो बगैँचामा आएको छु; मैले आफ्नो मूर्र मसलाहरूसहित बटुलेको छु। मैले मेरो महको चाका र मेरो मह खाएको छु, मैले मेरो दाखमद्य र मेरो दूध पिएको छु। मित्रहरू हे मित्रहरू हो, खाओ र पिओ; प्रेमीहरू हो, अघाउन्जेल पिओ। 2 म त सुतेँ, तर मेरो हृदय जागै रह्यो; सुन! मेरा प्रियले ढोका ढकढकाउँदै हुनुहुन्छः “मेरी प्रेमी, मेरी प्रिय, मेरो निम्ति ढोका खोलिदेऊ; मेरी ढुकुर, मेरी निष्खोट सुन्दरी, मेरो शिर शीतले भिजेको छ; रातको शितले मेरो कपाल भिजेको छ।" 3 मैले मेरो वस्त्र फुकालीसकेकी छु— के मैले त्यो फेरि लगाउनू? मैले मेरा खुट्टा धोएकी छु— के मैले ती फेरि मैला बनाउनू? 4 मेरा प्रियले ढोका खोल्न चेपबाट हात भित्र छिराउँदा, उहाँको निम्ति मेरो मुटु धड्कन लाग्यो। 5 मेरा प्रियको निम्ति ढोका खोल्न म उठेँ, मेरो हात र औँलाहरूबाट मूर्र चुहुँदैथियो; र मेरा औँलाहरूबाट ढोका समात्ने ठाउँमा मूर्र चुहियो। 6 मैले मेरा प्रियको निम्ति ढोका खोलेँ, तर मेरा प्रिय हिँडिसक्नुभएछ; उहाँ गइसक्नुभएछ। उहाँको बिदाइमा मेरो हृदय खिन्न भयो। मैले उहाँलाई खोजेँ, तर भेट्टाइनँ। मैले उहाँलाई बोलाएँ, तर उहाँले केही जवाफ दिनुभएन। 7 सहरमा गस्ती गरिरहेका पहरेदारहरूले मलाई भेट्टाए। अनि तिनीहरूले मलाई हिर्काए र घाइते पारिदिए; ती पर्खालहरूका पहरेदारहरूले मेरो खास्टो खोसेर लगे! 8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई अनुरोध गर्दछु— यदि तिमीहरूले मेरा प्रियलाई भेट्टायौ भने, उहाँलाई के भनौला? म प्रेमले पागल भइसकेकी छु भनेर भनिदेओ। 9 हे नारीहरूमध्ये परमसुन्दरी, तिम्रा प्रिय कसरी अरूहरूभन्दा असल छन्? तिम्रा प्रियचाहिँ कसरी अरूहरूभन्दा असल छन्, र तिमी हामीलाई यसरी आग्रह गर्दछ्यौ? 10 हे यरूशलेमका छोरीहरू हो, दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ। 11 उहाँको शिर निखुर सुनको छ; उहाँको केश घुम्रिएको र कागझैँ कालो छ। 12 उहाँका आँखाहरू पानीका जलकुण्डको छेउमा बसेका ढुकुरहरूजस्ता, दूधले पखालिएको, बहुमूल्य पत्थर जडिएका जस्ता छन्। 13 उहाँका गाला सुगन्ध फैलाउने मसलाहरूका ड्याङझैँ छन्। उहाँका ओठ मूर्र चुहाउने लिली फूलसमान छन्। 14 उहाँका पाखुरा पीतमणि जडेका सुनका डण्डाजस्तै छन्। शरीर नीलमणि जडेको चिल्लो, टल्कने हस्तीदन्तझैँ छ। 15 उहाँका गोडा निखुर सुनको जगमा बसालिएका सिङ्गमरमरका खम्बा हुन्। उहाँको रूप लेबनानका उत्तम देवदारुजस्तै देखिन्छ। 16 उहाँको मुख मिठासपूर्ण छ; उहाँ सम्पूर्ण रूपले सुन्दर हुनुहुन्छ। उहाँ नै मेरा प्रिय, मेरा मित्र हुनुहुन्छ, हे यरूशलेमका छोरीहरू हो।
