Menu

तीतस 3

NCB

1 शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। 2 तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्। 3 कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ। 4 तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो, 5 तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्‍नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, 6 जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। 7 उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो। 8 यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्। 9 तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। 10 विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। 11 तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ। 12 जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निर्णय गरेको छु। 13 कानुनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्। 14 जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्। 15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्। हामीलाई विश्‍वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्!

Everything we make is available for free because of a generous community of supporters.

Donate