Menu

जकरिया 14

NCB

1 हे यरूशलेम, याहवेहको दिन आउँदैछ, जब तिमीहरूको धनसम्पत्ति लुटिनेछ र त्यो तिमीहरूकै सामु पर्खालभित्र बाँडिनेछ। 2 म सबै राष्ट्रहरूलाई यरूशलेमको विरुद्धमा लडाइँ गर्नका निम्ति भेला गराउनेछु। सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू बलत्कृत हुनेछन्। आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट बाहिर लगिनेछैनन्। 3 तब याहवेह निस्कनुहुनेछ र उहाँ युद्धको दिनमा झैँ, उहाँले राष्ट्रहरूको विरुद्धमा लडाइँ गर्नुहुनेछ। 4 त्यस दिन उहाँका खुट्टाले यरूशलेमको पूर्वपट्टिको जैतुन पर्वतमा टेक्नेछन्, र जैतुन पर्वत पूर्वदेखि पश्‍चिमसम्म दुई भाग हुनेछ; अनि त्यहाँ एउटा ठूलो बेँसी बन्‍नेछ। यसरी पर्वतको आधा भाग उत्तरपट्टि सर्नेछ, र आधाचाहिँ दक्षिणपट्टि सर्नेछ। 5 तिमीहरू मेरो पर्वतको बेँसीहुँदै भाग्नेछौ; किनकि त्यो आसेलसम्म फैलिनेछ। जसरी तिमीहरू यहूदाका राजा उज्जियाहको दिनमा भुइँचालोबाट भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नेछौ। तब याहवेह मेरा परमेश्‍वर सबै पवित्र जनहरूसँग आउनुहुनेछ। 6 त्यस दिन उज्यालो हुनेछैन, न त ठण्डा, न त तुसारोले भरिएको रात नै हुनेछ। 7 त्यो अद्वितीय दिन हुनेछ: दिउँसो र राति छुट्टाउन नसकिने दिन—याहवेहलाई मात्र थाहा भएको दिन। जब साँझ पर्छ, तब उज्यालो नै रहनेछ। 8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बगेर निस्कनेछ; आधा पूर्वीय मृत सागरपट्टि र आधा पश्‍चिमी महासागरपट्टि बगेर निस्कनेछ; त्यो हिउँद र वर्षामा सधैँ बगिरहनेछ। 9 याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ। 10 सम्पूर्ण देश गेबादेखि लिएर यरूशलेमको दक्षिणपट्टिको रिम्मोनसम्म नै अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ बेन्यामीनको मूलढोकादेखि पहिलो मूलढोकाको स्थानसम्म, कुनाको मूलढोकासम्म र हननेलको धरहरादेखि राजकीय दाखको कोलसम्म माथि अग्लोमा उठाइनेछ, र त्यसको आफ्नै ठाउँमा रहनेछ। 11 मानिसहरू त्यहाँ बसोबास गर्नेछन्; त्यो फेरि कहिल्यै नाश हुनेछैन। यरूशलेम सुरक्षित रहनेछ। 12 यरूशलेमको विरुद्धमा लडाइँ गर्ने सबै राष्ट्रहरूलाई याहवेहले यस्तो विपत्तिले प्रहार गर्नुहुनेछ: तिनीहरू उभिरहेकै बेला तिनीहरूका मासु कुहेर झर्नेछन्। तिनीहरूका आँखाहरू खोपिल्टाभित्रै कुहुनेछन्; अनि तिनीहरूका जिब्राहरू तिनीहरूका मुखभित्रै कुहेर जानेछन्। 13 अनि त्यस दिन याहवेहबाट ठूलो त्रास मानिसहरूमाथि पर्नेछ। हरेक मानिसले एक-अर्काको हात समात्नेछन् र तिनीहरू एउटाले अर्कोमाथि आक्रमण गर्नेछन्। 14 यहूदाले पनि यरूशलेममा लडाइँ गर्नेछ। चारैतिरका राष्ट्रहरूका धनसम्पत्ति—सुन, चाँदी र लुगाफाटाहरूको थुप्रो जम्मा गरिनेछ। 15 त्यस्तै किसिमको रूढीले घोडा, खच्‍चर, ऊँट, गधा र शिविरहरूमा भएका सबै जनावरहरूलाई प्रहार गर्नेछ। 16 त्यसपछि यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूबाट बाँचेका मानिसहरू प्रत्येक वर्ष महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न र छाप्रोबासको चाड मनाउनलाई जानेछन्। 17 यदि पृथ्वीको कुनै पनि जाति महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न यरूशलेममा जादैनन् भने तिनीहरूले झरी पाउनेछैनन्। 18 यदि इजिप्टियन मानिसहरू माथि यरूशलेममा गएर चाडमा सहभागी भएनन् भने तिनीहरूले झरी पाउनेछैनन्। याहवेहले तिनीहरूमाथि त्यो रूढी ल्याउनुहुनेछ, जुन उहाँले छाप्रोबासको चाड मनाउन उक्लिएर नजाने राष्ट्रहरूमाथि ल्याउनुभएको थियो। 19 छाप्रोबासको चाड मनाउन यरूशलेममा उक्लेर नजाने इजिप्ट र सबै राष्ट्रहरूका निम्ति यही दण्ड हुनेछ। 20 त्यस दिन घोडाहरूका घण्टीहरूमा, “याहवेहको निम्ति पवित्र,” भनी खोपिएका हुनेछन्; अनि याहवेहको भवनमा भएका पकाउने भाँडाहरूचाहिँ, वेदी सामु भएका पवित्र कचौराहरूझैँ हुनेछन्। 21 यरूशलेम र यहूदामा भएका प्रत्येक भाँडा सेनाहरूका याहवेहका निम्ति पवित्र ठहरिनेछन्; अनि ती भाँडाहरू लिएर बलिदान चढाउन आउने सबैले त्यसैमा पकाउनेछन्। अनि त्यस दिन सेनाहरूका याहवेहको भवनमा फेरि कहिल्यै कनानी हुनेछैन।

Everything we make is available for free because of a generous community of supporters.

Donate